भोलि काठमाडौंका पाँच स्थानमा सरकारले ग्यास बिक्री गर्ने
काठमाडौं । खाना पकाउने ग्यासको अभावका कारण समस्यामा परेका उपभोक्तालाई लक्षित गर्दै नेपाल आयल निगमले काठमाडौंका विभिन्न स्थानबाट ग्यास सिलिन्डर बिक्री गर्ने व्यवस्था गरेको छ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंसँगको समन्वयमा निगमले भोलि शनिबार, २०८३ साउन ३१ गतेदेखि तोकिएका बिक्री केन्द्रबाट विभिन्न ब्राण्डका ग्यास सिलिन्डर वितरण गर्न लागेको हो।
निगमका अनुसार टेकुस्थित निगम परिसरबाट नेपाल, एचपी, एभरेष्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ब्राण्डका ग्यास बिक्री हुनेछन्।
चाबहिलस्थित यातायात कार्यालय परिसरमा भने नेपाल र एचपी ब्राण्डका सिलिन्डर उपलब्ध हुनेछन्। त्यस्तै, राजास्वामी किर्तिपुर परिसरबाट नेपाल, एचपी, एभरेष्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साईबाबा र ओम ब्राण्डको ग्यास वितरण गरिनेछ।
बसुन्धरास्थित राजास्वामी परिसरबाट नेपाल, एचपी, एभरेष्ट/सुगम र भानुक ओम् ब्राण्डका सिलिन्डर बिक्री हुने निगमले जनाएको छ।
यसैगरी, बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट नेपाल, एचपी, एभरेष्ट/सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ब्राण्डका ग्यास बिक्री गरिनेछ।
ग्यास खरिद गर्न चाहने उपभोक्ताले नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ। बिक्री केन्द्रहरूमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास खरिद गर्न सकिने निगमले जनाएको छ।
तपाईको प्रतिक्रिया