शुक्रबार २९ श्रावण २०८३
राजनीति

शेखर कोइराला : कांग्रेस एकढिक्का हुन्छ, देशको भविष्य उज्ज्वल बन्छ

शुक्रबार श्रावण २९, २०८३/ Friday 08-14-26

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेस पार्टी एकढिक्का रहनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस एकताबद्ध भएपछि अन्य दल तथा शक्तिसँग सहकार्य गर्दै राष्ट्रियता मजबुत बनाउन सकिने बताए ।

‘पार्टी एकढिक्का हुन्छ भन्नेमा म विश्वस्त छु । कांग्रेस एकढिक्का हुनेबित्तिकै अरू दलसँग सहमति, सहकार्य र एकता गरी अघि बढ्ने हो,’ उनले भने, ‘अन्य शक्तिसँग पनि हामीले मिलेर काम गरेर राष्ट्रियता मजबुत गर्न सके कांग्रेस मात्र होइन, देशको भविष्य पनि उज्ज्वल हुन्छ ।’

कोइरालाले कांग्रेस कसैको निरंकुशता स्वीकार गर्ने पार्टी नभएको पनि बताए ।

उनले पार्टी अहिले विभाजित मानसिकताबाट गुज्रिरहेको उल्लेख गर्दै राष्ट्रिय भेलामा सहभागी सबै नेताले कांग्रेसलाई एकताबद्ध बनाउने धारणा राखेको बताए ।

‘कांग्रेस विभाजित मनस्थितिबाट गुज्रिरहेको छ । यहाँ सबैले एउटै कुरा भन्नुभएको छ– कांग्रेस मिलाउँछौं, मिल्छ,’ कोइरालाले भने ।

 

तपाईको प्रतिक्रिया