शुक्रबार २९ श्रावण २०८३
राजनीति

पार्टी एकताका लागि दृढ हुनुपर्छ, अहिले पनि अदालतबाट न्याय पाउँछु भन्ने विश्वास छ : देउवा

शुक्रबार श्रावण २९, २०८३/ Friday 08-14-26

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवादमा लामो समय प्रतिस्पर्धी रहेका देउवा र कोइराला समूह अहिले एउटै कित्तामा उभिएका छन्। विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा आएपछि देउवा–कोइराला समूहले त्यसलाई अवैधानिक भन्दै आएको छ।

यही दाबीलाई बलियो बनाउन शेरबहादुर देउवा–कोइराला समूहले शुक्रबार काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दै शक्ति प्रदर्शन गरेको छ। भेलामा देउवालाई कांग्रेस सभापति र १४औँ महाधिवेशनबाट निर्वाचित नेताहरूलाई उनीहरूकै पदमा प्रस्तुत गरिएको थियो।

भेलामा पूर्वमहामन्त्री शशांक कोइरालाले कांग्रेस एकजुट बनाउन भेला आयोजना गरिएको बताए। देउवाले पार्टी एकताको पक्षमा आफू रहेको र न्यायालयप्रति अझै विश्वास रहेको धारणा राखे।

नेता शेखर कोइरालाले कांग्रेसले कुनै पनि निरंकुशता स्वीकार नगर्ने बताए। विमलेन्द्र निधिले शेरबहादुर देउवा नै कांग्रेसको सभापति रहेको दाबी गर्दै यही सन्देश लिएर जान सहभागीलाई आग्रह गरे।

कृष्णप्रसाद सिटौलाले गगन थापाले विशेष महाधिवेशन गरेर गल्ती गरेको आरोप लगाउँदै त्यसलाई सच्याउन सुझाव दिए। पूर्णबहादुर खड्काले कांग्रेस एकता राष्ट्रियताको रक्षाका लागि आवश्यक रहेको बताए।

भेलामा विजय गच्छदारले विगतको पार्टी विभाजन स्मरण गर्दै अहिले कांग्रेस करुणाहीन बनेको टिप्पणी गरे।

 

तपाईको प्रतिक्रिया