बुधबार ३ भदौ २०८३
मनोरन्जन

नेपाली हिप–हपमा नयाँ अध्याय, ‘हसल बाइ नेपहप’ आउँदै

मंगलबार भदौ २, २०८३/ Tuesday 08-18-26

काठमाडौं। नेपाली हिप–हपले राष्ट्रिय टेलिभिजनमा नयाँ मञ्च पाउने भएको छ। मलिन मिडियाले भारतीय र्‍याप सांगीतिक कार्यक्रम ‘एमटिभी हसल’को नेपाली संस्करण ‘हसल बाइ नेपहप’ नेपालमा ल्याउन लागेको हो।

नेपाली हिप–हप, कलाकार र यससँग जोडिएको संस्कृतिलाई केन्द्रमा राखेर निर्माण हुने कार्यक्रम र्‍यापमा आधारित सांगीतिक रियालिटी कार्यक्रम हुनेछ।

कुनै समय सीमित समूहमा केन्द्रित हिप–हप पछिल्लो समय नेपालमा लोकप्रिय संगीत विधाका रूपमा स्थापित हुँदै गएको छ। नेपाली र्‍याप गीतले डिजिटल माध्यममा लाखौं दर्शक पाउन थालेका छन् भने नयाँ पुस्ताका कलाकारले पनि ठूलो लोकप्रियता हासिल गरिरहेका छन्।

‘हसल बाइ नेपहप’मा प्रतिस्पर्धा, मार्गदर्शन र प्रतिभा प्रस्तुतिलाई समेटिनेछ। स्थापित र्‍यापरसँगै नयाँ प्रतिभालाई राष्ट्रिय स्तरमा आफ्नो कला प्रस्तुत गर्ने अवसर दिने लक्ष्य कार्यक्रमको रहेको छ।

कार्यक्रममा नेपाली कलाकारका आवाज, परिवेश र कथालाई प्राथमिकता दिइनेछ। यसले नेपाली हिप–हपलाई थप व्यवस्थित र दीर्घकालीन संगीत विधाका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

 

तपाईको प्रतिक्रिया