बुधबार २ मङ्सिर २०८३
खेलकुद

एनपीएल : क्वालिफायर–१ मा लुम्बिनी टस जितेर पहिले बलिङ गर्दै

मंगलबार मङ्सिर १, २०८३/ Tuesday 11-17-26

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज भइरहेको पहिलो क्वालिफायर खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा लुम्बिनीका कप्तानले बलिङ रोज्दै सुदूरपश्चिम रोयल्सलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।

प्रतियोगिताको लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष दुई स्थानमा रहेका यी दुवै टोली आजको खेल जितेर सिधै फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन्।

लिग चरणमा लुम्बिनी लायन्स ११ अङ्कसहित शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा प्रवेश गरेको हो। यस्तै, सुदूरपश्चिम रोयल्स १० अङ्कसहित दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुगेको हो।

यी दुई टोलीबीचको प्रतिस्पर्धा यस सिजनको सुरुआती खेलदेखि नै रोचक रहँदै आएको छ। सिजनको पहिलो खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई सात विकेटले पराजित गरेको थियो। अघिल्लो संस्करणको फाइनलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई हराउँदै उपाधि जितेको थियो।

आजको खेलमा विजयी हुने टोलीले आगामी मङ्सिर ६ गते हुने फाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछ। पराजित हुने टोलीको उपाधि यात्रा भने समाप्त हुने छैन। उसले इलिमिनेटरको विजेतासँग क्वालिफायर–२ खेल्दै फाइनल प्रवेशको अर्को अवसर प्राप्त गर्नेछ।

 

तपाईको प्रतिक्रिया