मंगलबार १ मङ्सिर २०८३
राजनीति

सरकार सनक र लहडमा चलिरहेको छ : कांग्रेस सभापति थापा

सोमबार कार्तिक ३०, २०८३/ Monday 11-16-26

सिमरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकार विधि र प्रक्रियाभन्दा सनक तथा लहडका आधारमा सञ्चालन भइरहेको आरोप लगाएका छन्।

बाराको सिमरामा सोमबार आयोजित पार्टी प्रवेश तथा भेलालाई सम्बोधन गर्दै थापाले सरकारका निर्णय र कार्यशैलीमाथि प्रश्न उठाएका हुन्। उनले संसदीय व्यवस्थामा प्रतिपक्षको आफ्नै जिम्मेवारी हुने भन्दै कांग्रेसले सरकारका गलत निर्णयमाथि प्रश्न उठाइरहने बताए।

सरकारलाई प्रश्न गरेकै कारण आफूहरूमाथि षड्यन्त्र भइरहेको दाबी गर्दै थापाले त्यस्ता प्रयासबाट कांग्रेस विचलित नहुने बताए। पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आएका चर्चाको पछि नलाग्न कार्यकर्तालाई आग्रह गर्दै उनले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाँच वर्ष सरकार सञ्चालन गर्ने जनादेश पाएको उल्लेख गर्दै थापाले सरकारको आन्तरिक विषयमा कांग्रेसले हस्तक्षेप नगर्ने स्पष्ट पारे। तर सरकारका कामकारबाहीको निगरानी र खबरदारी भने जारी रहने उनको भनाइ थियो।

उनले सरकारले अनावश्यक गतिविधिमा समय खर्चिनुभन्दा रोजगारी सिर्जना, अर्थतन्त्र सुधार र युवालाई स्वदेशमै बस्ने वातावरण निर्माणमा ध्यान दिनुपर्ने बताए। सरकारका राम्रा काम र सकारात्मक प्रस्तावमा कांग्रेसले सहयोग गर्ने पनि उनले उल्लेख गरे।

पार्टीको आन्तरिक विषयमा बोल्दै थापाले समयको आवश्यकताअनुसार विद्रोह गरिएको भन्दै अब सबैलाई समेटेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने बताए। आगामी पुसको पहिलो साताभित्र जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गरी स्थानीय निर्वाचनको तयारीमा जुट्ने उनको भनाइ थियो।

थापाले उम्मेदवार छनोट प्रक्रियामा समेत परिवर्तन गर्ने घोषणा गरेका छन्। अब स्थानीय तहका उम्मेदवार छनोट गर्ने अधिकार पार्टीका क्रियाशील सदस्यलाई दिइने र मनोनयनको केही घण्टाअघि मात्रै टिकट वितरण गर्ने पुरानो परिपाटी अन्त्य गरिने उनले बताए।

आगामी निर्वाचनमा कांग्रेसले कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट पार्दै उनले पार्टीका योग्य र जनतामाझ काम गरेका व्यक्तिलाई उम्मेदवार बनाइने बताए।

छठ पर्व मनाउन आफू मधेस आएको विषयलाई राजनीतिक दृष्टिकोणबाट मात्र नहेर्न आग्रह गर्दै थापाले छठले नेपाली समाजलाई जोड्ने काम गर्ने बताए। उनी सर्लाही र पर्साका छठघाटमा पूजा गरेर बारा पुगेका थिए।

 

तपाईको प्रतिक्रिया