काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ। आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तथा त्यसमा प्रस्तुत गरिने विषयवस्तुबारे छलफल गर्न पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको हो।
आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पार्टीको संगठनात्मक तथा चुनावी तयारी व्यवस्थित बनाउने उद्देश्यले एमालेले राष्ट्रिय भेला आयोजना गर्न लागेको हो। भेलामा प्रस्तुत गरिने एजेन्डा, प्रतिवेदन तथा अन्य विषयमा आवश्यक सुझाव संकलन गर्न अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन्।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार राष्ट्रिय भेलालगत्तै मंसिर ४ गते स्थानीय तहका जनप्रतिनिधिको भेला र मंसिर ५ गते केन्द्रीय कमिटीको बैठक आयोजना गरिनेछ।
काठमाडौंमा हुने राष्ट्रिय भेलामा पार्टीका केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटी तथा विभिन्न तहका जनप्रतिनिधिसम्म गरी ३ हजार ४१४ जना सहभागी हुने एमालेले जनाएको छ।
पार्टीका अनुसार इतिहासमै पहिलोपटक केन्द्रीय नेतृत्व, पालिका तहका कमिटी, संघीय सांसददेखि स्थानीय तहका जनप्रतिनिधिलाई एउटै मञ्चमा सहभागी गराएर राष्ट्रिय भेला आयोजना गर्न लागिएको हो।
भेलाको उद्घाटन मंसिर २ गते बिहान ११ बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ। भेलामा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विशेष सम्बोधन गर्नेछिन्।
राष्ट्रिय भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, केन्द्रीय प्रतिनिधि, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष सहभागी हुनेछन्। त्यसैगरी संघीय सांसद, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षको सहभागिता रहनेछ।
एमालेले उक्त भेलालाई पार्टीका सबै तहको प्रतिनिधित्व हुने बृहत् राष्ट्रिय कार्यक्रमका रूपमा लिएको छ। सहभागी संख्याका हिसाबले यो भेला पार्टीको महाधिवेशनभन्दा पनि ठूलो हुने एमालेको दाबी छ।
तपाईको प्रतिक्रिया