लुम्बिनीविरुद्ध सुदूरपश्चिमले दियो १०६ रनको लक्ष्य, कप्तान ऐरीको अर्धशतक
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्ससामु १०६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०५ रन बनायो।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५२ रनको योगदान दिए। उनले ५१ बलमा ३ चौका र १ छक्का प्रहार गरे। त्यस्तै इशान पाण्डेले ३३ बलमा २७ रन बनाए।
अन्य ब्याटरमध्ये स्कट कुग्गेलाइनले ७, आरिफ शेखले ४, विनोद भण्डारी र थानुका दबारेले समान ३ तथा थरिन्दु रत्नायकेले १ रन बनाए। अनिल खरेल २ रनमा अविजित रहे।
सुदूरपश्चिमको सुरुवात भने निकै खराब रह्यो। पहिलो बलमै जर्ज मन्सी खाता नखोली आउट भएका थिए। त्यसपछि पनि लगातार विकेट गुमाएको टोलीले पावरप्लेमा २० रन जोड्दा ३ विकेट गुमाएको थियो।
बलिङतर्फ लुम्बिनीका रुबेन ट्रम्पेलम्यान र शेर मल्लले समान २ विकेट लिए। अभिषेक गौतम र किशोर महतोले समान १ विकेट हात पारे।
तपाईको प्रतिक्रिया