मकवानपुर । नेकपा एमालेका नेता किरण थापा मगर बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूको समर्थनमा बिहीबार थापा मुख्यमन्त्री बनेका हुन्।
प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि दाबी पेस गरेका थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
थापाले ६३ जना प्रदेशसभा सदस्यको समर्थनसहित सरकार गठनका लागि दाबी पेस गरेका थिए। उनको पक्षमा एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसद रहेको बताइएको छ। यद्यपि, थापालाई समर्थन गर्ने विषयमा राप्रपाभित्रै विवाद देखिएको छ।
यसअघि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसक्ने अवस्था देखिएपछि पदबाट राजीनामा दिएका थिए। त्यसपछि प्रदेश प्रमुख देवकोटाले नयाँ सरकार गठनका लागि आह्वान गर्दै भदौ ४ गते अपराह्न ४ बजेसम्म दाबी पेस गर्ने समय दिएका थिए।
थापा बागमती प्रदेशसभाको दोस्रो कार्यकालमा मुख्यमन्त्री बन्ने चौथो व्यक्ति हुन्। यसअघि नेकपाका शालिकराम जम्कट्टेल, कांग्रेसका बहादुर सिंह लामा र इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको नेतृत्व गरिसकेका छन्।
तपाईको प्रतिक्रिया