काठमाडौं । कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलाले डा. शशांक कोइरालालाई समूहको नेतृत्वको जिम्मेवारी दिएको छ। पूर्वसभापति शेरबहादुर देउवाको उपस्थितिमा सम्पन्न भेलापछि पूर्वउपसभापति पूर्णबहादुर खड्काको समूहभित्रको भूमिका भने खुम्चिएको देखिएको छ।
सर्वोच्च अदालतले पुनरावलोकनको आदेश दिएपछि पार्टी विभाजनको सम्भावना तत्काल टरेसँगै खड्का भेलाको उद्घाटनमा सहभागी भए पनि समापन कार्यक्रममा उपस्थित भएनन्।
भेलाले १५औँ महाधिवेशनसम्म समूहका नियमित गतिविधि कोइरालाले समन्वय गर्ने निर्णय गरेको छ। यसअघि अदालती प्रक्रिया, बैठक आह्वान र राष्ट्रिय भेला आयोजना गर्न खड्का नेतृत्वदायी भूमिकामा थिए।
संस्थापन इतरका नेताहरूले भने खड्काको जिम्मेवारी नखोसिएको र उनी पार्टी एकताको पक्षमा रहेको बताएका छन्। अब खड्का आगामी महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गर्ने तयारीमा लाग्ने संकेत देखिएको छ।
तपाईको प्रतिक्रिया