शुक्रबार ५ भदौ २०८३
राजनीति

रास्वपा केन्द्रीय समिति बैठक सुरु

शुक्रबार भदौ ५, २०८३/ Friday 08-21-26

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक काठमाडौंको वनस्थलीस्थित घण्टी घरमा सुरु भएको छ।

महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा पार्टीका विभिन्न दस्तावेज, संगठन व्यवस्थापन तथा मनोनयन, आगामी योजना, कार्यक्रम र अभियानलगायत विषयमा छलफल हुँदैछ।

बैठकमा स्थानीय निर्वाचनलाई लक्षित गर्दै ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ अनुमोदन गर्ने तथा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्ने विषय पनि एजेन्डामा राखिएको छ।

संगठन व्यवस्थापनतर्फ केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य र विभिन्न विभागका प्रमुख मनोनयन गर्ने प्रस्तावमाथि छलफल हुनेछ। साथै, स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन तथा त्यसका सदस्य मनोनयनबारे पनि निर्णय हुने जनाइएको छ।

त्यसैगरी, केन्द्रीय समिति तथा प्रतिनिधि सभा सदस्यहरूको नेतृत्वमा स्थानीय तहमा उम्मेदवार छनोटसम्बन्धी अभिमुखीकरण र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि छलफल हुनेछ।

रास्वपाले पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने प्रस्तावसमेत बैठकमा छलफलका लागि प्रस्तुत गरेको छ।

तपाईको प्रतिक्रिया