अस्ट्रेलियामा टप एन्ड टी-२० सिरिज: नेपाल ‘ए’ र एनटी स्ट्राइक्सबीच पहिलो भिडन्त
काठमाडौँ। अस्ट्रेलियाको डार्विनस्थित डीएक्ससी एरेनामा जारी ‘टप एन्ड टी–२० सिरिज’मा नेपाल ‘ए’ टोलीले आज आफ्नो पहिलो खेल खेल्दैछ। नेपालले आयोजक नर्थन टेरिटोरी (एनटी) स्ट्राइक्ससँग प्रतिस्पर्धा गर्न लागेको हो।
अनिल शाहको कप्तानीमा मैदान उत्रिने नेपाली टोलीले अस्ट्रेलियाली परिस्थितिमा आफ्नो क्षमता प्रदर्शन गर्ने लक्ष्य राखेको छ। खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ।
एनटी स्ट्राइक्सको नेतृत्व अनुभवी खेलाडी डार्सी शर्टले गर्दैछन्। टोलीमा बिग ब्यास लिगका चर्चित खेलाडी जोर्डन सिल्क, वेस एगर र टम मेन्जिजलगायत छन्।
गत संस्करणमा एनटी स्ट्राइक्ससँग नेपाल ४२ रनले पराजित भएको थियो। त्यसैले नेपाल आज उक्त नतिजाको बदला लिँदै प्रतियोगितामा सुखद सुरुआत गर्ने योजनामा छ।
नेपालले लगातार दोस्रो पटक सहभागिता जनाएको सिरिजमा एनटी स्ट्राइक्ससहित बंगलादेश हाई–परफर्मेन्स, होबार्ट हुरिकेन्स, एसीटी कमेट्स, किङ्समेन र भिक्टोरियासँग प्रतिस्पर्धा गर्नेछ।
अस्ट्रेलियाली तथा अन्तर्राष्ट्रिय टोलीसँगको प्रतिस्पर्धाले नेपाली खेलाडीलाई उच्चस्तरीय क्रिकेटको अनुभव लिन महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया