शुक्रबार ५ भदौ २०८३
समाज

गरिमा चौधरीको न्यायको माग गर्दै माइतीघरमा प्रदर्शन

शुक्रबार भदौ ५, २०८३/ Friday 08-21-26

काठमाडौं । गरिमा चौधरीको हत्या तथा बलात्कार घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ।

‘स्वतन्त्र आमा नेपाल’को आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले चौधरीका परिवारलाई तत्काल न्याय दिलाउन र घटनामा दोषी ठहरिने व्यक्तिलाई कडा सजाय दिन सरकारसँग माग गरेका छन्।

प्रदर्शनकारीहरूले हातमा विभिन्न नारासहितका प्लाकार्ड तथा ब्यानर बोकेर जघन्य अपराधविरुद्ध आवाज उठाएका थिए। उनीहरूले बलात्कार तथा हत्याजस्ता घटनामा संलग्नलाई कडा कानुनी कारबाही गर्नुपर्ने र यस्ता अपराधमा मृत्युदण्डको व्यवस्था गर्नुपर्ने मागसमेत गरेका छन्।

कार्यक्रममा ‘स्वतन्त्र आमा नेपाल’का प्रतिनिधिहरूले महिला तथा बालबालिकामाथि हुने हिंसाका घटना बढिरहेको भन्दै चिन्ता व्यक्त गरे। कानुनी प्रक्रिया प्रभावकारी हुन नसक्दा अपराधीले उन्मुक्ति पाउने अवस्था सिर्जना भएको उनीहरूको आरोप थियो।

गरिमा चौधरीलाई न्याय दिलाउन दबाबमूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रदर्शनकारीहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया