आइतबार ३१ श्रावण २०८३
अर्थ

नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो

शनिबार श्रावण ३०, २०८३/ Saturday 08-15-26

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७.५८ प्रतिशत बढी हो।

आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिकमा कम्पनीको खुद नाफा ६ अर्ब ६७ लाख रुपैयाँ रहेको थियो। एक वर्षको अवधिमा नाफा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँले वृद्धि भएको हो।

त्यस्तै, कम्पनीको करअघिको नाफा पनि उल्लेख्य बढेको छ। गत आवको चौथो त्रैमासिकसम्म करअघिको नाफा १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवमा यस्तो नाफा ९ अर्ब ८५ करोड २ लाख रुपैयाँ थियो। यसअनुसार करअघिको नाफा ३४.६६ प्रतिशतले बढेको देखिन्छ।

कम्पनीको ब्याज, कर, ह्रासकट्टी तथा अमोर्टाइजेसनअघिको आम्दानी (EBITDA) २० अर्ब ४८ करोड १ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवमा यो रकम १८ अर्ब ४९ करोड ६० लाख रुपैयाँ थियो। यसमा १०.७३ प्रतिशतको वृद्धि भएको हो।

सञ्चालन आम्दानी पनि बढेर ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ३३ अर्ब ८९ करोड ४५ लाख रुपैयाँ थियो। अर्थात् सञ्चालन आय १ अर्ब ५ करोड ५९ लाख रुपैयाँले बढेको छ।

त्यस्तै, कम्पनीको कुल आय २.६५ प्रतिशतले बढेर ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवमा कुल आय ३८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ रहेको थियो। कम्पनीको वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी ४९ रुपैयाँ २५ पैसा पुगेको छ।

ब्याज आम्दानी घटे पनि नाफामा सुधार

ब्याजदरमा आएको गिरावटका कारण कम्पनीको ब्याज आम्दानी भने घटेको छ। अघिल्लो आवको तुलनामा गत आवमा ब्याज आम्दानी ८६ करोड १९ लाख रुपैयाँ अर्थात् २२.८८ प्रतिशतले घटेको कम्पनीले जनाएको छ।

तर, मुख्य दूरसञ्चार सेवाबाट हुने आम्दानी बढेपछि समग्र सञ्चालन आय र नाफामा सकारात्मक प्रभाव परेको छ। सेवातर्फको राजस्व मात्रै ६४ करोड ५४ लाख रुपैयाँ अर्थात् २.२८ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीका अनुसार सञ्चालन खर्च तथा वित्तीय व्यवस्थापनमा भएको सुधार र दूरसञ्चार सेवाबाट प्राप्त आम्दानीमा भएको वृद्धिले ब्याज आम्दानी घटेको प्रभावलाई न्यूनीकरण गरेको हो।

दुर्गम क्षेत्रमा सेवा विस्तारलाई प्राथमिकता

व्यावसायिक रूपमा कम प्रतिफल प्राप्त हुने भए पनि राष्ट्रिय सञ्चार पूर्वाधार विस्तारको जिम्मेवारीलाई ध्यानमा राख्दै नेपाल टेलिकमले दुर्गम तथा विकट क्षेत्रमा सेवा विस्तारलाई निरन्तरता दिँदै आएको जनाएको छ।

कम्पनीले यस्ता क्षेत्रमा नेटवर्क विस्तार, सेवा गुणस्तर सुधार र दूरसञ्चार पहुँच बढाउन अतिरिक्त लागत व्यहोर्दै आएको छ। आगामी दिनमा पनि सेवा गुणस्तर सुधार, नयाँ प्रविधिको विस्तार तथा दुर्गम क्षेत्रमा पहुँच वृद्धि गर्ने योजनालाई प्राथमिकतामा राखिएको छ।

दूरसञ्चार बजारमा प्रतिस्पर्धा तीव्र बन्दै जाँदा विद्यमान ग्राहकलाई कायम राख्नुका साथै डेटा र डिजिटल सेवाको प्रयोग विस्तार गर्नु कम्पनीका लागि प्रमुख चुनौती र अवसरका रूपमा देखिएको छ।

तपाईको प्रतिक्रिया