काठमाडौं । नेपालकै ठूलो खुद्रा व्यापारिक सञ्जाल भाटभटेनी सुपरस्टोरले काठमाडौं उपत्यकाका तीनवटा शाखालाई चरणबद्ध रूपमा चौबिसै घण्टा सञ्चालनमा ल्याउने भएको छ।
यस योजनाको सुरुआत भक्तपुरको राधेराधेस्थित भाटभटेनीबाट हुने भएको छ। उक्त स्टोर सोमबारदेखि २४ घण्टा खुला रहनेछ। त्यसपछि ललितपुरको कृष्णगल्ली र काठमाडौंको टंगालमा रहेको शाखालाई पनि क्रमशः चौबिसै घण्टा सञ्चालनमा ल्याउने तयारी कम्पनीले गरेको छ।
भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार उपत्यकाको बढ्दो यातायात चाप र यात्रुको सुविधालाई मध्यनजर गर्दै पहिलो चरणमा भक्तपुर शाखाबाट यो सेवा सुरु गर्न लागिएको हो। भक्तपुर स्टोर सुरु भएको करिब एक सातापछि कृष्णगल्ली शाखा र भदौको तेस्रो सातापछि टंगाल शाखालाई पनि २४ घण्टा सञ्चालन गर्ने योजना छ।
रातभर सञ्चालन हुने शाखामा पहिलो तला मात्रै खुला रहनेछ। त्यहाँ मुख्य रूपमा दैनिक उपभोग्य तथा ग्रोसरीका सामग्री उपलब्ध हुनेछन्। रातको समयमा ग्राहक र कर्मचारीको सुरक्षाका लागि आवश्यक सुरक्षा प्रबन्धसमेत थप गरिएको कम्पनीले जनाएको छ।
उपत्यकाका तीनवटै शाखा चौबिसै घण्टा सञ्चालनमा आएपछि पोखरास्थित एउटा स्टोरलाई पनि यही अवधारणामा सञ्चालन गर्ने कम्पनीको योजना छ। राति स्टोर सञ्चालन गर्ने विषयमा सम्बन्धित प्रहरी तथा प्रशासनलाई जानकारी गराइसकिएको पौडेलले बताए।
मिनबहादुर गुरुङले ४२ वर्षअघि काठमाडौंको टंगालबाट सुरु गरेको भाटभटेनीको अहिले देशभर २७ वटा स्टोर सञ्चालनमा छन्। कम्पनीले वार्षिक करिब ३२ अर्ब रुपैयाँको कारोबार गर्दै आएको छ भने यसका स्टोरहरूमा २२ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्।
यसअघि २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भाटभटेनीका अधिकांश शाखामा आगजनी, लुटपाट र तोडफोड हुँदा कम्पनीले अर्बौं रुपैयाँ बराबरको क्षति बेहोरेको थियो। ठूलो क्षति भए पनि कुनै कर्मचारीको रोजगारी नहटाई पुनः लगानीमार्फत अधिकांश शाखा सञ्चालनमा ल्याइसकेको कम्पनीले जनाएको छ।
तपाईको प्रतिक्रिया