रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, स्थानीय निर्वाचनको तयारीदेखि ‘राइट टु रिकल’सम्म छलफल हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ। वनस्थलीस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा आगामी स्थानीय तह निर्वाचनको तयारी, संगठन सुदृढीकरण तथा उम्मेदवार छनोटलगायत विषयमा छलफल हुने भएको छ।
बैठकले स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा अनुमोदन गर्दै केन्द्रीय उम्मेदवार छनोट समिति गठन गर्ने तयारी गरेको छ। उम्मेदवार छनोट प्रक्रिया र विधिबारे कार्यकर्तालाई जानकारी गराउन देशव्यापी प्रशिक्षण तथा अभिमुखीकरण सञ्चालन गर्ने प्रस्ताव पनि बैठकमा पेस हुनेछ।
यस्तै, रास्वपाले उठाउँदै आएको ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण तथा त्यसको कार्यान्वयनका लागि आवश्यक कानुनी र राजनीतिक खाका तयार गर्ने विषयमा पनि छलफल हुनेछ।
बैठकमा रिक्त तथा थप गर्नुपर्ने पदमा मनोनयन, सचिवालय सदस्य र विभागीय प्रमुखको जिम्मेवारी बाँडफाँटलगायत संगठनात्मक विषयमा समेत निर्णय हुने बताइएको छ।
पार्टीका धारणा तथा गतिविधि सार्वजनिक गर्न ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने प्रस्ताव पनि बैठकको कार्यसूचीमा रहेको छ।
तपाईको प्रतिक्रिया