शुक्रबार ५ भदौ २०८३
राजनीति

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्का पुगे सर्वोच्च

शुक्रबार भदौ ५, २०८३/ Friday 08-21-26

काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चर्किंदै जाँदा १५औँ महाधिवेशनको प्रक्रिया तत्काल रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका छन्।

संस्थापन पक्षले अन्य समूहसँग पर्याप्त सहमति नगरी एकतर्फी रूपमा महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको भन्दै देउवा र खड्काले त्यसविरुद्ध सर्वोच्चमा रिट निवेदन दायर गर्न लागेका हुन्। देउवाका तर्फबाट कांग्रेस नेता दीपक खड्का र पूर्णबहादुर खड्काका तर्फबाट अधिवक्ता श्रवणकुमार सर्वोच्च पुगेका थिए।

कांग्रेस इतर समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले रिट सर्वोच्चमा पुगेको जानकारी दिएका छन्।

रिट निवेदनमा हालै सार्वजनिक गरिएको महाधिवेशनसम्बन्धी प्रक्रिया तथा कार्यतालिका कार्यान्वयन नगर्न ‘उत्प्रेषणको आदेश’ माग गरिएको छ। संस्थापन पक्षले भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गर्ने र असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ।

देउवा तथा डा. शेखर कोइराला पक्षले भने उक्त कार्यतालिका पार्टीभित्र आवश्यक छलफल र सहमति नगरी एकपक्षीय रूपमा ल्याइएको आरोप लगाउँदै आएका छन्।

यसअघि सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विषयमा पुनरावलोकनको आदेश दिएको थियो। उक्त आदेशपछि पनि पार्टीभित्र महाधिवेशनको प्रक्रिया र कार्यतालिकालाई लिएर विवाद बढेको हो।

यसैबीच, देउवा र कांग्रेस नेता डा. शेखर कोइरालाबीच शुक्रबार बिहान चुनदेवीमा भेटवार्ता भएको थियो।

तपाईको प्रतिक्रिया