कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। विश्वासको मत लिनका लागि प्रदेशसभा बैठक दिउँसो २ बजे बोलाइएको प्रदेशसभा सचिव सुदर्शन खड्काले जानकारी दिएका छन्।
नेपाली कांग्रेसले गत भदौ ३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले संवैधानिक व्यवस्थाअनुसार पुनः विश्वासको मत लिन लागेका हुन्। कार्कीले मुख्यमन्त्री बनेपछि विश्वासको मत लिन लागेको यो तेस्रोपटक हो।
२०८१ वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले वैशाख ३१ गते पहिलोपटक विश्वासको मत लिएका थिए। एमाले र तत्कालीन माओवादीबीचको गठबन्धन टुटेर कांग्रेससँग नयाँ गठबन्धन बनेपछि उनले २०८१ असोज २ गते दोस्रोपटक विश्वासको मत लिएका थिए।
९२ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक छ। प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, नेपाली कम्युनिस्ट पार्टीका १७, राप्रपाका सभामुखसहित ५ र जसपाका १ सांसद छन्।
यसैबीच, एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको नयाँ सहमतिअनुसार प्रदेश सरकार पुनर्गठन भइसकेको छ। पुनर्गठित सरकारका नयाँ मन्त्रीहरूले गत सोमबार पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।
तपाईको प्रतिक्रिया