नेपाल ‘ए’को लगातार दोस्रो हार, बंगलादेश हाई पर्फर्मेन्स–११ सँग ९ विकेटले पराजित
काठमाडौँ । अस्ट्रेलियामा जारी टप इन्ड ट्वान्टी–२० सिरिजमा नेपाल ‘ए’ले लगातार दोस्रो हार व्यहोरेको छ।
डार्विनस्थित मरारा ओभलमा शनिबार भएको खेलमा बंगलादेश हाई पर्फर्मेन्स–११ ले नेपाल ‘ए’लाई ९ विकेटले पराजित गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९९ रनको सामान्य योगफल तयार पारेको थियो। जवाफी ब्याटिङमा उत्रिएको बंगलादेशले १० ओभर २ बलमै एक विकेट गुमाएर १०० रन बनाउँदै सहज जित निकाल्यो।
नेपालको सुरुवात निकै खराब रह्यो। शीर्षक्रमका ब्याटरहरू लगातार आउट हुँदा नेपालले १० रनमै चार विकेट गुमाएको थियो। त्यसपछि कुशल भुर्तेलले ४६ रनको महत्वपूर्ण पारी खेल्दै इनिङ्स सम्हाल्ने प्रयास गरे।
विपिन खत्रीले अविजित ११ रन बनाए भने साहब आलमले ११ र रिजन ढकालले १० रन जोडे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।
बंगलादेशका लागि ओपनरहरूले सहज रूपमा लक्ष्य पछ्याए। एक विकेट मात्र गुमाएको बंगलादेशले १०.२ ओभरमै खेल आफ्नो पक्षमा पार्यो।
नेपाल ‘ए’ले सिरिजको पहिलो खेलमा पनि हार व्यहोरेको थियो। शुक्रबार भएको खेलमा एनटी स्ट्राइकसँग नेपाल ८ विकेटले पराजित भएको थियो।
लगातार दुई खेलमा पराजित नेपाल ‘ए’ले अब पर्सि होबर्ट हुरिक्यास एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ।
तपाईको प्रतिक्रिया