८ हजार मिटरमाथिका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने तयारी
काठमाडौं । नेपाल पर्वतारोहण संघले ८ हजार मिटरभन्दा अग्ला थप ६ वटा हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रिया अघि बढाएको जनाएको छ।
सगरमाथा आरोही संघको २५औँ वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले थप ६ हिमालको अन्तर्राष्ट्रिय मान्यताका लागि आवश्यक प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए।
उनका अनुसार प्रक्रिया सफल भए विश्वमा ८ हजार मिटरभन्दा अग्ला हिमालको संख्या २० पुग्नेछ। तीमध्ये १४ वटा हिमाल नेपालमा रहनेछन्।
शेर्पाले नेपालको पर्वतीय पर्यटन विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा विकसित हुँदै गएको उल्लेख गर्दै यसमा सरकार, पर्वतारोहणसम्बन्धी संघसंस्था तथा सरोकारवालाको संयुक्त योगदान रहेको बताए।
उनले सगरमाथा आरोही संघ र नेपाल पर्वतारोहण संघबीच ‘नङ र मासु’को जस्तो सम्बन्ध रहेको बताउँदै स्थापना कालदेखि नै नेपाल पर्वतारोहण संघले देशको पर्वतारोहण क्षेत्रको विकासमा सक्रिय भूमिका खेल्दै आएको उल्लेख गरे। सरकारले जारी गर्ने हिमाल तथा चुचुरोको सूची तयार पार्नसमेत संघको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ।
शेर्पाका अनुसार थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रिया सफल भए नेपालमा मात्रै ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल रहनेछन्।
यसअघि पर्यटन विभागले आफ्नो पिक प्रोफाइलमा ल्होत्से सार (८,४०० मिटर) र **ल्होत्से सेन्टर (८,४१० मिटर)**लाई थप गरी आधिकारिक मान्यता दिइसकेको छ।
त्यस्तै, ताप्लेजुङस्थित कञ्चनजंघा क्षेत्रमा चारवटा नयाँ शिखर पहिचान भएका छन्। तीमध्ये कञ्चनजंघा सेन्टर (८,४७३ मिटर), कञ्चनजंघा साउथ (८,४७६ मिटर), यालुङखाङ (८,५०५ मिटर) र यालुङखाङ वेस्ट (८,०७७ मिटर) रहेका छन्।
तपाईको प्रतिक्रिया