काठमाडौं। जेनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूले आगामी भदौ २३ गते जेनजी शहीद स्मृति दिवस मनाउने घोषणा गरेका छन्।
जेनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपाल संयुक्त संघर्ष समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बानेश्वरस्थित पुरानो संसद् भवन परिसरमा कार्यक्रम आयोजना गर्ने जानकारी दिएका हुन्।
समाजका कोषाध्यक्ष गणेशप्रसाद चौलागाईंले स्मृति दिवसको सम्पूर्ण खर्च तथा व्यवस्थापन सरकारले गर्नुपर्ने माग गरे। आर्थिक रूपमा कमजोर शहीद परिवार र घाइतेलाई कार्यक्रमको भार दिन नहुने उनको भनाइ छ।
समितिले असोज १५ गतेदेखि सोही संसद् भवनभित्र सातदिने महायज्ञ आयोजना गर्ने योजना समेत सार्वजनिक गरेको छ। स्मृति दिवसका विषयमा गृहमन्त्री सुदन गुरुङसँग छलफल भइरहेको चौलागाईंले बताए।
सरकारले यसअघि नै प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी शहीद दिवसका रूपमा मनाउने निर्णय गरिसकेको छ।
तपाईको प्रतिक्रिया