मंगलबार ९ भदौ २०८३
बिजनेस

बाजुराको बडिमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सुरु

सोमबार भदौ ८, २०८३/ Monday 08-24-26

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडिमालिका क्षेत्रमा नेपाल टेलिकमले फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। समुद्री सतहबाट करिब ४ हजार २०० मिटरको उचाइमा रहेको बडिमालिका क्षेत्रमा टेलिकमले टुजी तथा फोरजी मोबाइल सेवा विस्तार गरेको हो।

अत्यन्तै विकट र भौगोलिक रूपमा चुनौतीपूर्ण क्षेत्रमा सेवा सञ्चालनका लागि नेपाल टेलिकमले प्राविधिक टोली परिचालन गरी उपकरण तथा जडान सामग्री नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी गरेको थियो। उच्च हिमाली भूगोलमा टावर स्थापना तथा सेवा विस्तारको काम चुनौतीपूर्ण रहे पनि प्राविधिक टोलीले कठिन परिस्थितिमा काम सम्पन्न गरेको टेलिकमले जनाएको छ।

निरन्तरको प्रयासपछि आज भदौ ८ गतेदेखि बडिमालिका क्षेत्रमा टुजी तथा फोरजी मोबाइल सेवा औपचारिक रूपमा सञ्चालनमा आएको हो।

फोरजी सेवा सञ्चालनमा आएसँगै त्रिवेणी नगरपालिका–५ र ६, बडिमालिका नगरपालिका–५ र ६ तथा बाजुरा सदरमुकाम मार्तडीबाट बडिमालिका जाने पदमार्गमा पर्ने प्रसिद्ध त्रिवेणी पाटनलगायतका क्षेत्र दूरसञ्चार सेवाको पहुँचमा जोडिएका छन्।

टावर निर्माण तथा सेवा विस्तारका क्रममा नेपाल टेलिकमका इन्जिनियर सुदर्शन आचार्य, प्राविधिक अधिकृत माधव बुढाथोकी, सिभिल इन्जिनियर दीपक भट्टलगायतका प्राविधिक कर्मचारी सहभागी थिए।

उच्च हिमाली क्षेत्रमा सञ्चार सेवा विस्तार भएसँगै स्थानीय बासिन्दाका साथै बडिमालिका दर्शन तथा तीर्थयात्राका लागि पुग्ने भक्तजन, तीर्थयात्री र पदयात्रीलाई सञ्चार सम्पर्कमा सहजता हुने विश्वास नेपाल टेलिकमले लिएको छ।

बडिमालिका क्षेत्र धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण गन्तव्यका रूपमा परिचित छ। यहाँ सञ्चार सेवा विस्तारले स्थानीयवासीको दैनिक जीवनसँगै पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया