मंगलबार ८ मङ्सिर २०८३
समाज

आज प्रतिनिधिसभाका पाँच समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

मंगलबार मङ्सिर ८, २०८३/ Tuesday 11-24-26

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका पाँचवटा संसदीय समितिको बैठक आज बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ, उद्योग वाणिज्य तथा श्रम र उपभोक्ता हित, महिला तथा सामाजिक, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो।

महिला तथा सामाजिक समितिको बैठक बिहान ९ बजे बस्नेछ। बैठकमा ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल हुनेछ।

त्यस्तै, बिहान ९ः३० बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका विषयमा छलफल हुनेछ। साथै, नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल तथा स्काडा प्रणाली विस्तारसम्बन्धी प्राप्त उजुरीमाथि पनि छलफल गर्ने कार्यसूची छ।

अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक, २०८३’ माथि दफावार छलफल गरिनेछ।

यसैगरी, बिहान ११ बजे नै बस्ने उद्योग वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिको बैठकमा ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल हुनेछ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान ११ बजे बस्दैछ। उक्त बैठकमा ‘चलचित्र विधेयक, २०८१’ माथि संशोधन प्रस्ताव पेस गर्ने सांसदहरूसँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

 

तपाईको प्रतिक्रिया