मंगलबार ८ मङ्सिर २०८३
समाज

सशस्त्र प्रहरीमा एआईजीको एक पद रिक्त, बढुवाका लागि तीन डीआईजीबीच प्रतिस्पर्धा

मंगलबार मङ्सिर ८, २०८३/ Tuesday 11-24-26

काठमाडौँ । अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीरााज दाहाल सेवाबाट बर्खास्त भएसँगै सशस्त्र प्रहरी बलमा एआईजीको एक पद रिक्त भएको छ। उक्त पदमा बढुवाका लागि संगठनभित्र तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) बीच प्रतिस्पर्धा देखिएको छ।

संवेदनशील सूचना चुहाएको र आचरणविपरीत कार्य गरेको आरोपमा मन्त्रिपरिषद्ले असोज २३ गते दाहाललाई बर्खास्त गरेको थियो। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको विवादास्पद भेटपछि उनीमाथि छानबिन सुरु भएको थियो। छानबिनका क्रममा बिचौलिया इनम सापकोटासँग सम्पर्कमा रहेको र प्रधानमन्त्री बालेन्द्र शाहको लोकेसन ह्वाट्सएपमार्फत चुहाएको पुष्टि भएको दाबीसहित सरकारले उनलाई सेवाबाट हटाएको थियो।

दाहालले निर्णय पुनरावलोकनका लागि मन्त्रिपरिषद्मा निवेदन दिए पनि उनी सशस्त्र प्रहरीमा फर्किने सम्भावना नरहेको जनाइएको छ। चारवर्षे पदावधि पूरा गरेका कारण उनी असोज २८ गतेदेखि अवकाशमा गएका हुन्।

रिक्त एआईजी पदका लागि २०५९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका सुरेशकुमार श्रेष्ठ, दीपेन्द्र शाह र पुरुषोत्तम थापा प्रतिस्पर्धामा छन्।

वरीयतामा पहिलो नम्बरमा रहेका श्रेष्ठ हाल सीमा सुरक्षा विभागको नेतृत्वमा छन्। संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा पी–४ तहमा खुला प्रतिस्पर्धाबाट छनोट हुने पहिलो अधिकृतसमेत रहेका उनको व्यावसायिक अनुभवलाई बढुवाको आधारका रूपमा हेरिएको छ।

त्यस्तै, दोस्रो वरीयतामा रहेका दीपेन्द्र शाह सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरो प्रमुख छन्। सूचना संकलन तथा सुरक्षा चुनौतीको विश्लेषणमा उनको भूमिका महत्त्वपूर्ण मानिन्छ।

अर्का प्रतिस्पर्धी पुरुषोत्तम थापा सशस्त्र प्रहरी एकेडेमीमा कार्यरत छन्। उनले यसअघि संगठनको प्रवक्ता र नम्बर–९ पशुपतिनाथ बाहिनीको कमान्ड सम्हालिसकेका छन्।

अब बढुवाका क्रममा कार्यसम्पादन, व्यावसायिक अनुभव र ज्येष्ठतालाई आधार बनाइनेछ। एआईजी बढुवा समितिको अध्यक्ष प्रधानमन्त्री कार्यालयका सचिव रहने व्यवस्था छ। समितिमा गृह मन्त्रालयका सचिव सदस्य र सशस्त्र प्रहरी महानिरीक्षक सदस्य सचिव रहनेछन्। समितिको सिफारिसपछि असन्तुष्ट उम्मेदवारले सात दिनभित्र उजुरी दिन सक्ने कानुनी व्यवस्था छ।

 

तपाईको प्रतिक्रिया