शुक्रबार १९ भदौ २०८३
समाज

बाढीपहिरो प्रभावित क्षेत्रमा सेनाको उद्धार अभियान तीव्र

बिहीबार भदौ १८, २०८३/ Thursday 09-03-26

काठमाडौं। भदौ १० गतेको बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार अभियान तीव्र बनाएको छ। बुधबार बिहान ११ बजेसम्म हेलिकप्टरबाट ६ जनाको उद्धार गरिएको सेनाले जनाएको छ।

टनेलमा फसेका तथा बेपत्ताको खोजीका लागि लाङटाङ, चिलिमे र त्रिशूली–३ ‘ए’ तथा ‘बी’ जलविद्युत् आयोजनामा संयुक्त टोली परिचालन गरिएको छ। त्रिशूली–३ ‘ए’ मा पाँच एक्स्काभेटर प्रयोग गरी टनेलको आउटलेटमा थुप्रिएको लेदो र माटो हटाउने तथा ब्लास्टिङमार्फत बाटो फराकिलो बनाउने काम भइरहेको छ।

सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्म ९ हजार ३ सयभन्दा बढी सैनिक खोज तथा उद्धारमा खटिएका छन्। उनीहरूले बेपत्ताको खोजी, घाइतेको उद्धार, शव व्यवस्थापन, सडक सञ्चालन र स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्।

प्रधानसेनापति अशोकराज सिग्देलले प्रभावित क्षेत्र तथा उद्धार कार्यको स्थलगत अनुगमन गर्दै सम्बन्धित निकायबीच समन्वय गरेर उद्धार अभियान निरन्तरता दिन निर्देशन दिएका छन्।

 

तपाईको प्रतिक्रिया