एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा चन्द्र र एरिका सर्वोत्कृष्ट
काठमाडौं। बक्सिङका चन्द्रबहादुर थापा मगर र कराँतेकी एरिका गुरुङ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ का सर्वोत्कृष्ट खेलाडी बनेका छन्।
नेपाल खेलकुद पत्रकार मञ्चले बिहीबार आयोजना गरेको अवार्डको २३औँ संस्करणमा चन्द्र पुरुषतर्फ र एरिका महिलातर्फ उत्कृष्ट घोषित भएका हुन्। एरिका लगातार तेस्रोपटक महिला खेलाडी बनेकी हुन्।
कराँतेकी मनिषा कुमारी बोहरा उत्कृष्ट युवा खेलाडी, कुशल श्रेष्ठ उत्कृष्ट प्रशिक्षक र भलिबलकी मीना सुनार पिपल्स च्वाइस विजेता बने।

दुबईमा भएको आइबा पुरुष विश्व च्याम्पियनसिपमा कांस्य पदक जित्दै इतिहास रचेका चन्द्र विश्व बक्सिङमा पदक जित्ने पहिलो नेपाली बक्सर हुन्।
एरिकाले गत वर्ष विभिन्न अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा पदक जितेकी थिइन्।
यसैगरी सुषमा तामाङलाई पारा एथलिट सम्मान, ध्रुवविक्रम मल्ललाई स्पेसल अवार्ड र कुमार मोहनबहादुर शाहीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ।
भारतका खेल पत्रकार सबा नायकनलाई एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट सम्मान गरिएको छ।
तपाईको प्रतिक्रिया