मलेसियालाई ६ विकेटले हराउँदै नेपाल लगातार दोस्रो जितसँगै शीर्ष स्थानमा
काठमाडौं– एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ। बिहीबार आयोजक मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले चार अंक जोडेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३२ ओभर ३ बलमा १०३ रनमै अलआउट भयो। नेपालका करण केसीले ७.३ ओभरमा दुई मेडनसहित २३ रन खर्चेर चार विकेट लिए। ललितनारायण राजवंशीले दुई तथा सन्दीप लामिछाने, हेमन्त धामी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए।
१०४ रनको लक्ष्य नेपालले २१.४ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो। अर्जुन कुमालले नटआउट ४५ रन बनाए भने इशान पाण्डेले २०, दीपेन्द्रसिंह ऐरीले १२ र रोहितकुमार पौडेलले १० रन जोडे। आशिफ शेख भने पहिलो बलमै आउट भए।
पहिलो खेलमा बहराइनलाई सात विकेटले हराएको नेपाल लगातार दुई जितसहित समूहको शीर्ष स्थानमा छ।
नेपालले समूह चरणको तेस्रो खेल भदौ २१ गते साउदी अरेबिया र अन्तिम खेल भदौ २३ गते हङकङसँग खेल्नेछ। समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् भने प्रतियोगिताको विजेताले सन् २०२७ को एसिया कपमा स्थान बनाउनेछ।
तपाईको प्रतिक्रिया