शुक्रबार १९ भदौ २०८३
राजनीति

भोटेकोशी बाढी प्रभावितलाई राहतदेखि जेन्जी सहिद दिवसमा बिदासम्म, मन्त्रिपरिषद्का ७ निर्णय

बिहीबार भदौ १८, २०८३/ Thursday 09-03-26

काठमाडौं — सरकारले भोटेकोशी बाढी प्रभावितलाई राहत तथा सहुलियत दिने, उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउने तथा जेन्जी सहिद दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सात महत्वपूर्ण निर्णय गरेको हो।

बैठकले भोटेकोशी बाढी प्रभावितको उद्धार तथा राहतका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने ५० लाख अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय गरेको छ।

बाढी प्रभावित व्यक्ति तथा उद्योग–व्यवसायलाई राहत, कर तथा महसुल छुटसहितका सुविधा उपलब्ध गराउने निर्णय पनि भएको छ।

सरकारले साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत २५ हजार मेट्रिक टन चिनी १ प्रतिशत भन्सारमा आयात गर्न स्वीकृति दिएको छ।

उद्धारमा खटिएका सुरक्षाकर्मी तथा कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च, घाइते भए निःशुल्क उपचार तथा मृत्यु भए परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय भएको छ।

यस्तै, भदौ २२ गते भोटेकोशी बाढीमा मृत्यु भएकाहरूको सम्मानमा राष्ट्रिय शोक मनाइने र सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।

भदौ २३ गते जेन्जी सहिद दिवसमा देशभर सार्वजनिक बिदा दिने निर्णय पनि सरकारले गरेको छ।

मन्त्रिपरिषद्ले नारायणप्रसाद भट्टलाई कोशी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णयसमेत गरेको छ।

 

तपाईको प्रतिक्रिया