शनिबार २० भदौ २०८३
समाज

भोटेकोशी बाढी : ४ हजार ८९८ जना बेपत्ता, १ हजार ३४४ शव फेला

शनिबार भदौ २०, २०८३/ Saturday 09-05-26

काठमाडौं । नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि जारी खोज, उद्धार तथा क्षतिको पछिल्लो विवरण सार्वजनिक गरेको छ। प्रहरीका अनुसार बाढीका कारण स्वदेशी तथा विदेशी गरी ४ हजार ८९८ जना बेपत्ता भएका छन्।

बेपत्ता हुने स्वदेशी नागरिकमध्ये २ हजार ४४८ पुरुष र ४८२ महिला गरी २ हजार ९३० जना रहेका छन्। थप १ हजार ३५० जनालाई फोन सम्पर्कमार्फत बेपत्ताको सूचीमा राखिएको प्रहरीले जनाएको छ।

त्यस्तै, विदेशी नागरिकतर्फ २७४ पुरुष र ३८४ महिला गरी ६९८ जना बेपत्ता भएको विवरणमा उल्लेख छ।

बाढी प्रभावित क्षेत्रबाट हालसम्म १ हजार ३४४ वटा शव फेला परेका छन्। तीमध्ये ५२ बालक, ३३ बालिका, २६९ महिला, ४८९ पुरुष र ५०१ जनाका आंशिक अंग रहेका छन्। फेला परेका शवमध्ये १ हजार ३० वटा जमिनमा गाडेर व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।

उद्धार अभियानका क्रममा हालसम्म ८ हजार ६३१ जना घाइते तथा प्रभावितको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ७ हजार ३८७ जना नेपाली र १ हजार २४४ जना विदेशी नागरिक रहेका छन्।

बाढीबाट प्रभावित ३ हजार ६५५ जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ।

यसैबीच, फेला परेका शवको पहिचानका लागि डिएनए नमुना संकलनलाई तीव्रता दिइएको छ। प्रहरीले हालसम्म १ हजार २६० मृतक र ९७२ जना मृतकका आफन्त गरी २ हजार २३२ वटा डिएनए नमुना संकलन गरिएको जनाएको छ। पहिचान हुन नसकेका १ हजार २७० जनाको विवरण वेबसाइटमा अपलोड गरिएको छ।

खोज, उद्धार तथा राहत कार्यका लागि ७ हजार ९१२ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। बाढीका कारण ६५ जना प्रहरी कर्मचारीसमेत प्रभावित भएका छन् भने २५ जना प्रहरी अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा जोखिम न्यूनीकरण तथा जनचेतना अभिवृद्धिका लागि प्रहरीले १११ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। ती कार्यक्रममा ४१ हजार ८३८ जना सहभागी भएको विवरणमा उल्लेख छ।

 

तपाईको प्रतिक्रिया