शनिबार २० भदौ २०८३
बिश्वो

किभमा युक्रेनको सुरक्षा सेवा मुख्यालयमै रुसी ड्रोन हमला

शनिबार भदौ २०, २०८३/ Saturday 09-05-26

काठमाडौं । रुसले युक्रेनको राजधानी किभस्थित आन्तरिक सुरक्षा निकाय एसबीयूको मुख्यालयमै ड्रोन हमला गरेको छ। अमेरिकी टेलिभिजन नेटवर्क सीएनएनका अनुसार शुक्रबार दिउँसो भएको उक्त आक्रमणमा १२ जना घाइते भएका छन्।

युद्ध सुरु भएयता पहिलोपटक युक्रेनको आन्तरिक सुरक्षा निकायको मुख्यालयलाई नै प्रत्यक्ष निशाना बनाइएको बताइएको छ। आक्रमणपछि आपत्कालीन उद्धार टोली घटनास्थलमा पुगेको थियो।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी ड्रोन एसबीयू प्रमुख ओलेक्जान्दर पोक्लादको कार्यालयलाई लक्षित गरेर प्रहार गरिएको बताएका छन्। यद्यपि एसबीयूले पोक्लाद सुरक्षित रहेको र उनी घाइते नभएको जनाएको छ।

जेलेन्स्कीले रुसलाई जवाफी कारबाही गर्ने संकेतसमेत दिएका छन्। उनले पोक्लादलाई उपयुक्त र प्रभावकारी जवाफ दिन निर्देशन दिइएको भन्दै सम्भव भएसम्म रुसी आक्रमणकै स्वरूपमा जवाफ दिने तयारी भइरहेको बताएका छन्।

किभमा पछिल्ला आठ दिनदेखि रुसी हवाई आक्रमण निरन्तरजस्तै भइरहेको छ। राजधानीको मध्यभागका विभिन्न भवनसँगै बाहिरी क्षेत्रमा रहेका गोदाम तथा कारखानाहरूलाई समेत निशाना बनाइएको छ। आक्रमणका क्रममा कोकाकोला उत्पादन गर्ने एउटा कारखाना पनि प्रभावित भएको बताइएको छ।

गत महिनादेखि जारी लगभग निरन्तर हवाई आक्रमणका कारण किभ र आसपासका क्षेत्रमा कम्तीमा ५३ जनाको मृत्यु तथा १३४ जना घाइते भएका छन्।

एसबीयूको मुख्यालयमाथिको पछिल्लो प्रहारलाई भने युद्धमा थप गम्भीर विस्तारका रूपमा हेरिएको छ। यसले रुसी ड्रोन र क्षेप्यास्त्र रोक्न युक्रेनको हवाई प्रतिरक्षा प्रणालीमाथि बढिरहेको दबाबलाई समेत उजागर गरेको छ।

युक्रेन अहिले रुसी ड्रोन तथा क्षेप्यास्त्र खसाल्न आवश्यक इन्टरसेप्टर मिसाइलको अभावसँग जुधिरहेको छ। पछिल्ला केही दिनमा भएका अधिकांश आक्रमण जेट इन्जिनबाट चल्ने ड्रोनमार्फत भएको बताइएको छ। यस्ता ड्रोन प्रतिघण्टा करिब ५०० किलोमिटरसम्मको गतिमा उड्न सक्ने भएकाले यिनलाई रोक्नु युक्रेनी हवाई प्रतिरक्षाका लागि चुनौतीपूर्ण बनेको छ।

 

तपाईको प्रतिक्रिया