रसुवाका बाढी प्रभावित क्षेत्रमा नजान अमेरिकी दूतावासको आग्रह
काठमाडौँ । नेपाल भ्रमणमा रहेका अमेरिकी नागरिकलाई बाढी तथा पहिरो प्रभावित क्षेत्रमा यात्रा नगर्न अमेरिकी दूतावासले आग्रह गरेको छ।
काठमाडौँस्थित अमेरिकी दूतावासले शनिबार जारी गरेको ट्राभल एडभाइजरीमार्फत नेपाललाई ‘लेभल–२’ अर्थात् बढी सावधानी अपनाउनुपर्ने मुलुकको सूचीमा राख्दै विशेषगरी बाढी प्रभावित क्षेत्रमा सतर्कता अपनाउन आफ्ना नागरिकलाई सुझाव दिएको हो।
दूतावासले गत १० भदौमा विनाशकारी बाढीबाट प्रभावित रसुवा जिल्लाको रसुवागढी–टिमुरे–स्याफ्रुबेँसी क्षेत्रलाई ‘लेभल–४’ को सूचीमा राखेको छ। उक्त क्षेत्रमा कुनै पनि प्रयोजनका लागि यात्रा नगर्न अमेरिकी नागरिकलाई आग्रह गरिएको छ।
ठूलो बाढी र पहिरोपछि उक्त क्षेत्रमा जोखिम कायमै रहेको भन्दै दूतावासले यातायात तथा सञ्चार सेवा प्रभावित भएको, खोज तथा उद्धार एवं पुनःस्थापनाका काम भइरहेका र थप बाढी तथा पहिरोको सम्भावना रहेको जनाएको छ।
विशेषगरी नेपाल–चीन सीमा नाकासहितको रसुवागढी–टिमुरे–स्याफ्रुबेँसी क्षेत्रमा बाढीबाट भएको क्षति र अवरुद्ध यातायात तथा सञ्चारका कारण यात्रा नगर्न दूतावासले भनेको छ।
यस्तै, मनसुनको समयमा भारी वर्षाका कारण नेपालका विभिन्न क्षेत्रमा आकस्मिक बाढी तथा पहिरो जान सक्ने र सडक अवरुद्ध हुनुका साथै भवनमा क्षति पुग्न सक्ने भन्दै अमेरिकी नागरिकलाई सतर्क रहन सुझाव दिइएको छ। काठमाडौँ उपत्यकासहितका क्षेत्रमा पूर्वसूचनाविना भूकम्प जान सक्ने जोखिमतर्फ पनि दूतावासले ध्यानाकर्षण गराएको छ।
दूतावासले नेपाल भ्रमणमा रहेका अमेरिकी नागरिकलाई स्थानीय सञ्चारमाध्यमबाट तत्कालीन समाचार तथा सूचनाबारे जानकारी लिन र आवश्यक परे आफ्नो यात्रा योजना परिवर्तन गर्नसमेत सुझाव दिएको छ।
तपाईको प्रतिक्रिया