सुपर सेती जलविद्युत् आयोजनामा पहिरो : दुई कामदारको मृत्यु
कास्की । माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माणका क्रममा खसेको पहिरोमा परी दुई कामदारको मृत्यु भएको छ।
शुक्रबार बिहान करिब ११ बजे सडक खन्ने क्रममा माथिबाट अचानक पहिरो खस्दा तीन जना कामदार घाइते भएका थिए। घाइतेमध्ये धनकुटाको पाख्रीबास नगरपालिका–८ का २६ वर्षीय आयुष राई र खोटाङको केपिलासगढी गाउँपालिका–१ का २७ वर्षीय किसान राईको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुवै जनाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
पहिरोमा परी इलामका ३२ वर्षीय भक्तबहादुर मगर पनि घाइते भएका छन्। उनको मणिपाल शिक्षण अस्पतालमै उपचार भइरहेको र घुँडामा चोट लागेको प्रहरीले जनाएको छ।
पहिरोमा परेका कामदारलाई स्थानीयवासी र प्रहरीले तत्काल उद्धार गरी अस्पताल पुर्याएका थिए।
तपाईको प्रतिक्रिया