आइतबार २१ भदौ २०८३
समाज

एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबिया भिड्दै

आइतबार भदौ २१, २०८३/ Sunday 09-06-26

काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणअन्तर्गत नेपालले आज साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ।

मलेसियामा जारी प्रतियोगितामा नेपालले यसअघि खेलेका दुवै खेलमा शानदार जित निकालिसकेको छ। पहिलो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा आयोजक मलेसियामाथि ६ विकेटको जित दर्ता गरेको थियो।

लगातार दुई जितपछि उच्च आत्मविश्वासमा रहेको नेपाली टोली आजको खेल पनि जित्दै सेमिफाइनल यात्रा सहज बनाउने योजनामा छ। नेपाल र साउदी अरेबियाबीचको खेल बिहान ७ः१५ बजे सुरु हुनेछ।

समूह ‘ए’मा रहेको नेपाल दुई खेलबाट ४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ। तीन खेल खेलेको साउदी अरेबियाले भने एक जित र दुई हारसहित २ अंक जोडेको छ।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’मा संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्।

नेपालको लक्ष्य प्रतियोगिताको उपाधि जित्दै सन् २०२७ मा हुने एसिया कपमा स्थान सुरक्षित गर्नु हो। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् भने प्रतियोगिताको विजेताले एसिया कपमा सिधै स्थान बनाउनेछ।

नेपालका लागि आजको खेल महत्वपूर्ण मानिएको छ। साउदीविरुद्ध जित निकाल्न सके नेपालले सेमिफाइनलको सम्भावना थप बलियो बनाउनेछ। तर, आज पराजित भएमा अन्तिम खेलको नतिजा र रनरेटमा समेत निर्भर हुनुपर्ने अवस्था आउन सक्छ।

नेपालले समूह चरणको अन्तिम खेलमा भदौ २३ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ।

 

तपाईको प्रतिक्रिया