आइतबार २१ भदौ २०८३
समाज

भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ४४ जना अझै बेपत्ता

आइतबार भदौ २१, २०८३/ Sunday 09-06-26

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार अभियानका क्रममा हालसम्म १ हजार ३ सय ४१ जनाको शव फेला परेको छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ५ सय २३ पुरुष, ३ सय २५ महिला तथा ४ सय ९३ वटा आंशिक अंग रहेका छन्।

बाढीमा परी अझै ४ हजार ४४ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ। बेपत्तामध्ये ३ हजार ४ सय ३८ जना नेपाली र ६ सय ६ जना विदेशी नागरिक छन्।

प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहतका लागि ७ हजार ९ सय १२ जना प्रहरी परिचालन गरिएको छ। उद्धारका क्रममा ६५ जना प्रहरी कर्मचारीसमेत प्रभावित भएका छन् भने २५ जना प्रहरी अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

बाढीमा परी घाइते भएका ९ हजार १ सय ५१ जनाको उद्धार गरी उपचार तथा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। हाल ३ हजार ९८ जना प्रभावितलाई होल्डिङ सेन्टरमा राखिएको प्रहरीको विवरणमा उल्लेख छ।

पहिचान खुल्न नसकेका शवको पहिचानका लागि डीएनए परीक्षणसम्बन्धी प्रक्रिया अघि बढाइएको छ। हालसम्म १ हजार २ सय ८६ मृतक र १ हजार १ सय ८६ आफन्त गरी २ हजार ४ सय ७२ जनाको डीएनए नमुना संकलन गरिएको छ।

फेला परेका शवमध्ये ९८ वटा आफन्तलाई बुझाइएको छ भने पहिचान हुन नसकेका १ हजार ३७ वटा शव सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया