तातोपानी–रसुवागढी नाका बन्द, कोरलाबाट सामान ल्याउँदा ढुवानी खर्च चार गुणासम्म वृद्धि हुन सक्ने
काठमाडौं । चीनसँगको व्यापारका लागि महत्वपूर्ण रसुवागढी र तातोपानी दुवै नाका ठप्प भएपछि नेपाल–चीन व्यापार प्रभावित भएको छ।
भदौ १० गते आएको विनाशकारी बाढीले रसुवागढी नाका क्षेत्रमा ठूलो क्षति पुर्याएपछि यो नाका सञ्चालनमा आउन सकेको छैन। यता, चीनले सडक मर्मत तथा सुरक्षाको कारण देखाउँदै तातोपानी नाका पनि अस्थायी रूपमा बन्द गरेको छ। अहिले चीनसँगको व्यापारका लागि मुस्ताङको कोरला नाका मात्र सञ्चालनमा रहेको छ।
मुख्य नाका बन्द भएपछि नजिकिँदै गरेका दशैँ, तिहारलगायतका चाडपर्वका बेला बजारमा उपभोग्य वस्तुको अभावसँगै मूल्य बढ्न सक्ने व्यवसायीहरूले बताएका छन्।
व्यवसायीका अनुसार तातोपानीबाट काठमाडौंसम्म सामान ल्याउँदा प्रतिकन्टेनर करिब ७५ हजार रुपैयाँ र रसुवागढीबाट करिब १ लाख ५० हजार रुपैयाँ ढुवानी खर्च लाग्ने गरेको थियो। तर, काठमाडौंभन्दा ४०० किलोमिटरभन्दा बढी दूरीमा रहेको कोरला नाका प्रयोग गर्दा प्रतिकन्टेनर ढुवानी खर्च झन्डै ४ लाख रुपैयाँसम्म पुग्ने अवस्था छ।
त्यसमाथि जोमसोमभन्दा माथिको सडक कच्ची तथा कठिन भएकाले सामान ढुवानीमा थप समय र खर्च लाग्ने व्यवसायीहरूको भनाइ छ।
व्यवसायीहरूले तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन वा कोरला नाकाबाट भित्रिने सामान सिधै चोभारस्थित सुक्खा बन्दरगाहसम्म ल्याउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।
रसुवागढी नाका तत्काल सञ्चालनमा ल्याउन सम्भव नभएको अवस्थामा तातोपानी नाका पनि लामो समय बन्द रहे दशैँ, तिहारलगायतका चाडपर्वमा बजारमा सामानको अभाव हुनुका साथै मूल्य बढ्न सक्ने नेपाल तिब्बत हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले बताउनुभयो।
तपाईको प्रतिक्रिया