आइतबार २१ भदौ २०८३
राजनीति

भोटेकोशी बाढीपछि प्रधानमन्त्री शाह आफैं राष्ट्रसंघको महासभामा जाने

आइतबार भदौ २१, २०८३/ Sunday 09-06-26

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने भएका छन्। यसअघि महासभामा प्रधानमन्त्रीको सट्टा परराष्ट्रमन्त्री शिशिर खनाललाई पठाउने तयारी भए पनि भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री स्वयं सहभागी हुने निर्णय भएको हो।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको संकटलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रधानमन्त्रीले नै उठाउनुपर्ने दबाब बढेको थियो।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहसँगै परराष्ट्रमन्त्री खनाल र सीमित टोली अमेरिका जानेछन्। महासभामा नेपालले उठाउने विषय तथा प्रधानमन्त्रीको सम्बोधनका विषयमा विज्ञहरूसँग छलफल गरी तयारी भइरहेको मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

प्रधानमन्त्रीले जलवायु परिवर्तन र कार्बन उत्सर्जनका कारण नेपालजस्ता हिमाली मुलुकले भोगिरहेका समस्या तथा त्यसबाट सिर्जित विपद्का विषयलाई प्राथमिकताका साथ प्रस्तुत गर्ने तयारी छ। विशेषगरी भोटेकोशी बाढीबाट भएको क्षतिलाई जलवायु संकटसँग जोडेर अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने नेपालको तयारी रहेको छ।

संयुक्त राष्ट्रसङ्घको महासभा सेप्टेम्बर ८ देखि न्यूयोर्कमा सुरु हुँदैछ भने उच्चस्तरीय बहस सेप्टेम्बर २२ देखि २८ सम्म सञ्चालन हुनेछ। प्रधानमन्त्री शाहले यही उच्चस्तरीय सत्रमा सम्बोधन गर्नेछन्।

 

तपाईको प्रतिक्रिया