समाज
मनास्लु र लार्केपास क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह, दुईवटा पुल बाढीले बगायो
आइतबार भदौ २१, २०८३/ Sunday 09-06-26
गोरखा। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा बाढीले दुईवटा महत्त्वपूर्ण पुलहरू बगाएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न र नगराउन आग्रह गरेको छ।
भदौ २१ गते आइतबार बिहान करिब ३:३० बजे चुमनुब्री गाउँपालिका-४ नामरुङस्थित थेराङखोलामा आएको बाढीले चुमनुब्री गाउँपालिका वडा नं. ४ र २ जोड्ने फलामे पुल बगाएको छ। साथै, गापदेखि नामरुङ जङ्गल जाने बुढीगण्डकी नदीको झोलुङ्गे पुलसमेत बाढीले बगाएपछि सो क्षेत्रको पैदल आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ।

पुल बगाएर बाटो अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले अर्को सूचना प्रकाशित नहुँदासम्म मनास्लु पदमार्ग वा लार्केपास पदमार्ग यात्राको तयारीमा रहेका तथा यात्रामा निस्किएका पदयात्रीहरूलाई पदयात्रा नगर्न र नगराउन सार्वजनिक अपिल गरेको छ।
तपाईको प्रतिक्रिया