आइतबार २१ भदौ २०८३
खेलकुद

साउदीलाई ५ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

आइतबार भदौ २१, २०८३/ Sunday 09-06-26

काठमाडौं । नेपाल एसिसी प्रिमियर कप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। समूह चरणको खेलमा साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपालले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

साउदीले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा गुल्सन झाले आक्रामक ब्याटिङ गर्दै ४४ रन बनाए। उनले ३५ बलको सामना गर्दा छक्का प्रहारसमेत गरे।

त्यस्तै इशान पाण्डेले ४०, देव खनालले ३९, रोहित पौडेलले २४ र आसिफ शेखले २० रनको योगदान दिए। अर्जुन कुमालले १५ तथा दीपेन्द्रसिंह ऐरीले ५ रन बनाए।

यसअघि टस जितेर ब्याटिङ गरेको साउदी अरेबियाले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९० रन बनाएको थियो। उसका लागि ओपनर अब्दुल वाहिदले सर्वाधिक ७७ रन बनाए। उनले ८९ बलमा १० चौका र २ छक्का प्रहार गरे। मुहम्मद अतिफले ३० तथा मोहम्मद हिशाम शेखले २८ रन जोडे।

साउदीको दोस्रो विकेटका लागि वाहिद र अतिफले ९४ रनको साझेदारी गरेका थिए।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान ३ विकेट लिए। ललितराजवंशीले २ तथा शेर मल्ल र गुल्सन झाले समान १ विकेट हात पारे।

साउदीमाथिको जितसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ। यसअघि नेपालले बहराइन र मलेसियालाई पराजित गरेको थियो।

समूह ‘ए’को शीर्ष स्थानमा रहेको नेपालले अब अन्तिम खेल हङकङसँग खेल्नेछ। १० टोली सहभागी प्रतियोगिताको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ।

 

तपाईको प्रतिक्रिया