सोमबार २२ भदौ २०८३
राजनीति

विपत्तिमा पीडितको साथमा राज्य छ : राष्ट्रपति पौडेल

सोमबार भदौ २२, २०८३/ Monday 09-07-26

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त गुमाएका, विस्थापित भएका र जीविकोपार्जनका आधार गुमाएका नागरिकको पीडा गहिरो रहेकाले उनीहरूलाई राज्यको साथ र भरोसा चाहिएको बताएका छन्।

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गरी काठमाडौं फर्किएपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले पीडितका गुनासा र मागलाई आलोचनाका रूपमा नलिई समस्या समाधानका लागि प्राप्त महत्वपूर्ण सङ्केतका रूपमा बुझ्न सरकार तथा सम्बन्धित सबै निकायलाई आग्रह गरेका हुन्।

राष्ट्रपति पौडेलले बाढीपीडितको उद्धार, खोजी, राहत, पुनर्निर्माण र पुनःस्थापनाका सबै कामलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउन सरकारबाट स्थानीय तहलगायत राज्यका सबै तह, निकाय, संरचना र पक्षसँग आवश्यक समन्वय गरेर काम भइरहेकोमा आफू विश्वस्त रहेको बताए।

‘यस प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त गुमाएका, विस्थापित भएका र आफ्नो जीविकोपार्जनका आधार खोसिएका नागरिकहरूको पीडा अत्यन्त गहिरो छ। अहिले उनीहरूलाई राज्यको साथ चाहिएको छ, भरोसा चाहिएको छ र सरकार, राजनीतिक दल एवम् सम्पूर्ण नागरिक सङ्घसंस्था त्यसका लागि क्रियाशील छन् भन्ने मैले ठानेको छु,’ उनले भने, ‘यो दुःखको घडीमा म आफू पनि सबैको साथमा रहेको विश्वास दिलाउन चाहन्छु।’

विपत्तिमा परेका नागरिकको आवाज सुन्नु र उनीहरूको पीडाप्रति संवेदनशील हुनु लोकतान्त्रिक राज्यको आधारभूत कर्तव्य भएको उल्लेख गर्दै उनले पीडितका गुनासा र मागलाई आलोचनाका रूपमा नभई समाधानका लागि प्राप्त महत्वपूर्ण सङ्केतका रूपमा ग्रहण गर्न आग्रह गरे।

‘हामीलाई थाहा छ कि विपत्तिमा परेका नागरिकको आवाज सुन्नु र उनीहरूको पीडाप्रति संवेदनशील हुनु लोकतान्त्रिक राज्यको आधारभूत कर्तव्य हो,’ उनले भने, ‘त्यसैले पीडितका गुनासा र मागलाई आलोचनाका रूपमा होइन, समाधानका लागि प्राप्त महत्वपूर्ण सङ्केतका रूपमा ग्रहण गर्न म सरकार तथा सम्बन्धित सबै निकायलाई आग्रह गर्दछु।’

राष्ट्रपति पौडेलले परिवारका सदस्य तथा साथीभाइको खबरको प्रतीक्षामा रहेका सबैलाई खोजी तथा उद्धार कार्य निरन्तर जारी रहने विश्वास दिलाउँदै अनिश्चितताको यो क्षणको पीडा सिङ्गो राष्ट्रले महसुस गरिरहेको बताए।

उनले उद्धार गरिएका प्रत्येक व्यक्तिका लागि खाद्यान्न, स्वच्छ खानेपानी, सुरक्षित आश्रय, आवश्यक औषधोपचार तथा मनोसामाजिक सेवाको पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिए। बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला तथा अन्य जोखिममा रहेका र विशेष संरक्षण आवश्यक पर्ने नागरिकप्रति विशेष ध्यान दिनुपर्ने तथा अस्थायी आश्रयस्थल सुरक्षित र मर्यादित हुनुपर्ने उनको भनाइ छ।

नेपाली तथा विदेशी नागरिकका परिवारजनलाई यथार्थ र विश्वसनीय सूचना उपलब्ध गराउनुका साथै आफ्ना प्रियजनलाई घर फर्काउन आवश्यक सहजीकरण तथा मानवीय सहयोग उपलब्ध गराउनुपर्ने उनले बताए।

विपत्तिमा ज्यान गुमाएकाप्रति मर्यादा, सम्मान र करुणाका साथ व्यवहार सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै उनले मृतकको पहिचान अत्यन्त सावधानी, संवेदनशीलता र जिम्मेवारीका साथ गर्नुपर्ने बताए।

‘मृतकहरूको पहिचान अत्यन्त सावधानी, संवेदनशीलता र जिम्मेवारीका साथ गरिनुपर्दछ। आवश्यकतानुसार डीएनए नमुना तथा अन्य सम्बन्धित अभिलेखहरू सुरक्षित रूपमा संरक्षण गरी पहिचान प्रक्रियालाई विश्वसनीय र व्यवस्थित बनाउनेतर्फ सरकारले विशेष ध्यान दिने नै छ भन्ने मलाई विश्वास छ,’ उनले भने।

राष्ट्रपति पौडेलले भदौ १० गते हिमनदीको बरफ र चट्टानसहितको हिमपहिरो खसेर आएको विनाशकारी बाढीले अकल्पनीय पीडा ल्याएको उल्लेख गर्दै यसबाट मानव जीवन, घरपरिवार र जीविकोपार्जनका आधारका साथै सडक, पुल, जलविद्युत् आयोजनालगायत महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको बताए।

‘आज सम्पूर्ण राष्ट्र यस भयावह विपत्तिको शोकमा छ। यो विपत्तिमा परी ज्यान गुमाउनुभएका सम्पूर्ण नागरिकप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्य यथाशीघ्र सफल होस् भन्ने कामना गर्दछु,’ उनले भने।

विपत्तिमा प्रत्यक्ष रूपमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्वयंसेवक तथा उद्धार र राहतमा संलग्न सम्पूर्ण व्यक्ति र संस्थाप्रति राष्ट्रपति पौडेलले उच्च सम्मान व्यक्त गरे।

उद्धार कार्यमा संलग्न धेरैले आफ्नो ज्यानको समेत पर्वाह नगरी पीडित तथा प्रभावित नागरिकको उद्धारका लागि जोखिमपूर्ण क्षेत्रमा प्रवेश गरेको उल्लेख गर्दै उनले कठिन भौगोलिक अवस्था, क्षतिग्रस्त सडक तथा अस्थिर र जोखिमपूर्ण परिस्थिति हराइरहेका व्यक्तिको खोजी तथा उद्धार कार्य अवरुद्ध हुने कारण बन्न नहुने बताए।

नेपालमा कार्यरत, पर्यटक, हिमाली क्षेत्रमा पदयात्रामा रहेका वा आध्यात्मिक यात्राका क्रममा नेपालमा रहेका विदेशी नागरिकले विपत्तिमा ज्यान गुमाएकोप्रति पनि उनले श्रद्धाञ्जली व्यक्त गरे। उनीहरूका परिवारप्रति नेपालका तर्फबाट समवेदना व्यक्त गर्दै प्रभावित नागरिक भएका सम्बन्धित देशका सरकार तथा कूटनीतिक नियोगसँग सहकार्य गर्ने बताए।

यस कठिन घडीमा नेपाललाई तत्काल खोज तथा उद्धार जनशक्ति, प्राविधिक विशेषज्ञ, चिकित्सकीय टोली तथा आवश्यक उपकरण उपलब्ध गराई सहयोग गर्ने छिमेकी मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायप्रति पनि राष्ट्रपति पौडेलले कृतज्ञता व्यक्त गरे।

नेपालले विगतमा भूकम्प, बाढी, पहिरो, महामारीलगायत विभिन्न विपत्तिको सामना गर्दै आएको र प्रत्येक पटक नेपाली जनताले साहस, धैर्य, संयम र दृढताका साथ यस्ता कठिन परिस्थितिको सामना गरेको उनले स्मरण गरे।

‘म सम्पूर्ण राजनीतिक दलहरू, निर्वाचित जनप्रतिनिधिहरू, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न सङ्घसंस्थाहरू, निजी क्षेत्र, व्यवसायी समुदाय तथा सम्पूर्ण नागरिकहरूलाई यस कठिन घडीमा एकताबद्ध भएर उभिन हार्दिक आह्वान गर्दछु,’ उनले भने।

यो विभाजन, एकअर्कालाई दोषारोपण गर्ने वा राजनीतिक विवाद र टकरावमा अल्झिने समय नभएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्न आग्रह गरे।

‘यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो। यो समय पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो। हामी पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानको प्रक्रियामा जाँदै गर्दा हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ,’ उनले भने।

राष्ट्रपति पौडेलले विपत्तिले नेपालको हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था देखाउनुका साथै निरन्तर बढ्दै गएको विश्वव्यापी तापक्रम र त्यसबाट उत्पन्न जोखिमप्रति गम्भीर रूपमा सचेत गराएको बताए।

‘म अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपाललगायत पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन, उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु,’ उनले भने।

तपाईको प्रतिक्रिया