मंगलबार २३ भदौ २०८३
समाज

भोटेकोशी बाढीपछि बेपत्ताको खोजी जारी, दलदलका कारण उद्धारमा चुनौती

मंगलबार भदौ २३, २०८३/ Tuesday 09-08-26

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्य निरन्तर जारी रहने बताउनुभएको छ।

प्रधानमन्त्री शाहका अनुसार बाढीबाट रसुवागढी जलविद्युत् आयोजनाका संरचना तथा पावरहाउसमा रहेका अधिकांश सामग्रीमा क्षति पुगेको छ। लाङटाङ जलविद्युत् आयोजनामा पनि बाढी आएको दिनदेखि नै खोजी कार्यका लागि रेकी गरी नेपाली सेना र भारतीय टोलीले सुरुङको प्रवेशद्वारमा जमेको दलदल हटाउँदै खोजी गरिरहेका छन्।

नेपाली सेनाको टोली भदौ १० गतेदेखि नै चिलिमे जलविद्युत् आयोजना क्षेत्रमा पुगेको र दलदलका कारण सुरुङभित्र प्रवेश गर्न कठिनाइ भएको प्रधानमन्त्रीले बताउनुभएको छ।

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना क्षेत्रमा समेत खोजी जारी छ। त्रिशूली–३ ‘बी’ आयोजनामा भदौ १० गतेदेखि नै खोजीको प्रयास भए पनि भदौ १३ गते चिनियाँ टोलीले रेकी गरेको थियो। दलदलका कारण खोजीका उपकरण लैजान नसकिएको जनाइएको छ।

आयोजनाका कर्मचारी र नेपाली सेनाको टोलीले खोजी कार्यलाई निरन्तरता दिइरहेका छन्। थप उपकरण घटनास्थलमा पुर्‍याउने प्रयास भइरहेको प्रधानमन्त्री शाहले बताउनुभएको छ।

बाढीबाट प्रभावित विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा धेरै मानिस सम्पर्कविहीन भएको विवरण आएकाले बेपत्ताको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइने उहाँले बताउनुभएको छ।

 

तपाईको प्रतिक्रिया