उद्योगमन्त्रीमा सुनसरी–४ का सांसद दीपक साहलाई पठाउने तयारी
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी–४ बाट निर्वाचित सांसद दीपक कुमार साहलाई उद्योगमन्त्री बनाउने तयारी गरेका छन्।
प्रधानमन्त्री कार्यालयनिकट स्रोतका अनुसार साहको नाम उद्योगमन्त्रीका लागि सिफारिस गरिएको छ। यद्यपि उनको नियुक्ति भने अहिलेसम्म औपचारिक रूपमा पुष्टि भइसकेको छैन।
पार्टी सभापति रवि लामिछाने पक्षबाट नेता गणेश पराजुलीलाई उद्योगमन्त्रीका रूपमा अघि बढाउने तयारी भए पनि प्रधानमन्त्री शाहले साहलाई नै जिम्मेवारी दिने तयारी गरेको स्रोतको दाबी छ।
पेशाले इन्जिनियर रहेका साहलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिन लागिएको बताइएको छ। यसअघि उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी थिइन्।
यता राष्ट्रपति कार्यालयले भने नयाँ उद्योगमन्त्रीका विषयमा प्रधानमन्त्री कार्यालयबाट अहिलेसम्म औपचारिक पत्र प्राप्त नभएको जनाएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार शाक्यले मन्त्री नियुक्तिबारे सञ्चारमाध्यममा आएका समाचारबाहेक आफूहरूलाई औपचारिक जानकारी नआएको बताएका छन्।
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी रहेकाले बैठकले निर्णय गरेमा साहलाई बिहीबार नै मन्त्रीको शपथ गराउन सकिने सम्भावना रहेको बताइएको छ। तर मन्त्रिपरिषद्को औपचारिक निर्णय नआएसम्म नियुक्तिबारे यकिन गर्न नसकिने अवस्था छ।
साह यसअघि सीके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्षसमेत बनेका थिए। फागुन २१ को निर्वाचनअघि उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए। जलवायु परिवर्तनसम्बन्धी विभिन्न क्षेत्रमा काम गर्दै आएका साहलाई पार्टीभित्र प्राविधिक पृष्ठभूमिका प्रभावशाली नेताका रूपमा हेरिन्छ।
प्रधानमन्त्री बालेन्द्र शाह तथा नेता अमरेशकुमार सिंहसँग निकट मानिने साह बालेन्द्रकै सक्रियतामा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको दाबीसमेत गरिएको छ।
तपाईको प्रतिक्रिया