कांग्रेस महाधिवेशन : सातै प्रदेशका निर्वाचन समिति संयोजक तोकिए
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै सातै प्रदेशमा निर्वाचन संयोजक नियुक्त गरेको छ।
केन्द्रीय निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले महाधिवेशनअन्तर्गतका निर्वाचन प्रक्रिया सहज बनाउन सात जना वरिष्ठ अधिवक्तालाई प्रदेश निर्वाचन संयोजकको जिम्मेवारी दिएका हुन्।
समितिका अनुसार कोशी प्रदेशको निर्वाचन संयोजकमा डिल्लीबहादुर कार्की, मधेशमा बलराम सुवेदी, बागमतीमा कृष्ण अर्याल र गण्डकीमा जगन्नाथ ढकाल नियुक्त भएका छन्।
त्यस्तै, लुम्बिनी प्रदेशमा दीपकुमार रेग्मी, कर्णालीमा उत्तम आचार्य तथा सुदूरपश्चिम प्रदेशमा गंगाराम पाध्यायलाई निर्वाचन संयोजक तोकिएको छ।
संयोजक खड्काका अनुसार केन्द्रीय निर्वाचन समितिले बिहीबार वडादेखि जिल्लास्तरसम्मका पार्टी संरचनालाई पत्राचार गर्दै तोकिएको समयसीमाभित्र अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ। साथै, केन्द्रबाट खटाइएका निर्वाचन अधिकृतसँग आवश्यक समन्वय गर्न पनि स्थानीय पार्टी संरचनालाई आग्रह गरिएको छ।
कांग्रेसले गाउँ–नगर वडा अधिवेशनका लागि असोज ३ र ४ गतेको मिति तय गरेको छ। स्थानीय परिस्थितिअनुसार वडा अधिवेशन सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।
यसैगरी, असोज ७ गते गाउँ–नगर अधिवेशन तथा असोज १० गते प्रदेश सभा क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका छ।
कांग्रेसले यसअघि नै १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरिसकेको छ।
यसैबीच, बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने तोकिएका निर्वाचन अधिकृत तथा सम्बन्धित स्थानीय पार्टी संरचनाबीच समन्वय गरेर अधिवेशन सम्पन्न गर्न निर्वाचन समितिले निर्देशन दिएको छ।
कांग्रेसले जिल्ला र प्रदेश तहका अधिवेशन भने १५औँ महाधिवेशन सम्पन्न भएपछि गर्ने जनाएको छ।
तपाईको प्रतिक्रिया