शुक्रबार २६ भदौ २०८३
समाज

कुशे औँसीमा गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

शुक्रबार भदौ २६, २०८३/ Friday 09-11-26

काठमाडौं । कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिर तथा उत्तरगया पितृतीर्थ धाममा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

दिवङ्गत पिताप्रति श्रद्धा व्यक्त गर्दै तर्पण, पिण्डदान तथा आमान्न गर्ने भक्तजन ठूलो संख्यामा गोकर्णेश्वर पुगेका छन्। यस दिन वर्षभरिका धार्मिक कार्यमा प्रयोग हुने कुश घरमा भित्र्याउने परम्परा रहेकाले भाद्र कृष्ण औँसीलाई कुशे औँसी भनिन्छ। धार्मिक मान्यताअनुसार कुशलाई भगवान् विष्णुको स्वरूप मानिन्छ।

गोकर्णेश्वरमा कुशे औँसीका दिन श्राद्ध तथा तर्पण गरे २१ पुस्तासम्मका पितृले मुक्ति पाउने धार्मिक विश्वास छ। मन्दिरका पुजारी जगदीश भट्टका अनुसार सत्ययुगमा ब्रह्माले स्थापना गरेको तीर्थका रूपमा गोकर्णेश्वरको धार्मिक महत्त्व रहेको छ।

बौद्ध धर्मावलम्बीहरूमा पनि दिवङ्गत बाबुको निधन भएको एक वर्षभित्र गोकर्णेश्वर पुगेर श्राद्ध तथा पूजाआजा गर्ने परम्परा रहेको बौद्ध धर्मगुरु ऐतमान लामाले बताए। उनका अनुसार पूजाआजापछि प्रसादस्वरूप भोज खाने चलनसमेत छ।

कुशे औँसीमा गोकर्णेश्वरमा विशेष मेला लाग्ने भएकाले यस दिनलाई ‘गोकर्णे औँसी’ समेत भनिन्छ। धार्मिक मान्यताअनुसार पशुपतिनाथ र गोकर्णेश्वर दुवै तीर्थको दर्शनलाई महत्त्वपूर्ण मानिन्छ।

 

तपाईको प्रतिक्रिया