काठमाडौं । सरकारले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को नेतृत्वमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको छ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी असोज ६ देखि १० गतेसम्म आयोजना हुने महासभामा प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुने निर्णय गरेको हो।
बैठकले भारतको नयाँ दिल्लीमा हुने नेपाल–इन्डिया इन्टर–गभर्मेन्टल सब–कमिटीको बैठकका लागि नेपाली वार्ता टोली गठन गर्ने निर्णयसमेत गरेको छ।
त्यस्तै, अनुचित लेनदेन अर्थात् मिटरब्याज अपराध नियन्त्रणका लागि नयाँ विधेयक तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन्।
मन्त्रिपरिषद्ले काठमाडौं, भक्तपुर, ललितपुर, सप्तरी र दाङका २७ स्थानीय तहमा रहेका १७ हजार ४३८ गरिब घरपरिवारको सूची पनि स्वीकृत गरेको छ।
बैठकबाट शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारी नियुक्त गर्ने निर्णय भएको छ। आयोगको अध्यक्षमा भक्तपुरका डा. हरिप्रसाद लम्साल नियुक्त भएका छन्। सदस्यमा मकवानपुरका रामशरण सापकोटा र महिला सदस्यमा काठमाडौंकी विष्णु घिमिरे रिमाललाई नियुक्त गरिएको छ।
यस्तै, दुई सहसचिवलाई सचिवमा बढुवा गर्दै प्रदेशका प्रमुख सचिवको जिम्मेवारी दिइएको छ। सहसचिव विनोदबहादुर कुँवरलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिवमा बढुवा गरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गरिएको छ।
त्यसैगरी, सहसचिव उत्तरकुमार खत्रीलाई पनि सचिव पदमा बढुवा गरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवको जिम्मेवारी दिइएको छ।
मन्त्रिपरिषद्का प्रमुख निर्णयहरू :
- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा असोज ६ देखि १० गतेसम्म हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत।
- नयाँ दिल्लीमा हुने नेपाल–इन्डिया इन्टर–गभर्मेन्टल सब–कमिटी बैठकका लागि नेपाली वार्ता टोली गठन।
- मिटरब्याज अपराध नियन्त्रणसम्बन्धी विधेयक निर्माणका लागि गृह मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति।
- पाँच जिल्लाका २७ स्थानीय तहका १७ हजार ४३८ गरिब घरपरिवारको सूची स्वीकृत।
- शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल तथा सदस्यमा रामशरण सापकोटा र विष्णु घिमिरे रिमाल नियुक्त।
- विनोदबहादुर कुँवरलाई सचिवमा बढुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन।
- उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गरी सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा पदस्थापन।
तपाईको प्रतिक्रिया