आशिकाको आक्रोश : सरकारले ग्यास दिन नसक्ने भए ‘दाउरा खोजेर भात पकाऊ’ भन्नुपर्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले बजारमा ग्यास उपलब्ध हुँदाहुँदै पनि उपभोक्ताले खरिद गर्न नपाएको भन्दै सरकारको आलोचना गरेकी छन्।
शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद तामाङले आफूलाई दैनिक ठूलो संख्यामा उपभोक्ताले ग्यास नपाएको गुनासो गर्ने गरेको बताइन्।
उनका अनुसार कतिपय पसलमा ग्यासको सिलिन्डर भए पनि व्यवसायीले उपभोक्तालाई बिक्री गर्न आनाकानी गरिरहेका छन्।
‘पसलमा ग्यास छ, तर पसलेले बेच्न मान्दैनन् भन्ने गुनासो दैनिक आउँछ,’ उनले भनिन्, ‘ल्हासामा सुन छ, कान मेरो बुच्चै भनेजस्तो भयो। यसले सरकारभन्दा माफिया शक्तिशाली रहेको सन्देश दिएको छैन र?’
ग्यास उपलब्ध गराउन नसक्ने अवस्था भए सरकारले जनतालाई स्पष्ट जानकारी दिनुपर्ने तामाङको भनाइ छ।
उनले भनिन्, ‘यदि ग्यास छैन भने सरकारसँग ग्यास छैन भनेर स्पष्ट भनिदिनुपर्छ। ग्यास दिन नसक्ने हो भने जनतालाई वैकल्पिक उपाय अपनाउन आग्रह गर्नुपर्छ।’
सांसद तामाङले ग्यास अभावको समस्या समाधान गर्न पटक–पटक उद्योगमन्त्री परिवर्तन गर्नु उचित नभएको समेत बताइन्।
बिहीबार गौरीकुमारी यादवले उद्योगमन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री वालेन्द्र शाहले दीपककुमार साहलाई नयाँ उद्योगमन्त्री नियुक्त गरेका थिए।
मन्त्री परिवर्तन गर्दैमा ग्यास अभावको समस्या समाधान नहुने भन्दै तामाङले सरकारको कार्यशैलीप्रति प्रश्न उठाइन्।
‘महिनैपिच्छे ग्यासका लागि मन्त्री फेर्ने होइन,’ उनले भनिन्, ‘यसरी मन्त्री फेर्दै जाने हो भने ग्यासको भन्दा मन्त्रीहरूको लाइन लामो हुन्छ।’
तपाईको प्रतिक्रिया