काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ३१४ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रन बनाएको हो।
नेपालका लागि आसिफ शेखले उत्कृष्ट शतकीय पारी खेले। उनले १०६ बलमा ८ चौका र ४ छक्काको मद्दतमा १०२ रन बनाए। यो आसिफको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) करियरको दोस्रो शतक हो।
आसिफले अर्जुन कुमालसँग पहिलो विकेटका लागि ९७ रनको साझेदारी गर्दै नेपालको बलियो सुरुवात गराएका थिए। अर्जुनले ४३ रन बनाए।
त्यसपछि आसिफले इशान पाण्डेसँग दोस्रो विकेटका लागि ३६ तथा रोहित पौडेलसँग तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरे। रोहितले ४० रन बनाए।
नेपालका लागि गुल्शन झाले आक्रामक अर्धशतक बनाए। उनले ३८ बलमा ३ चौका र ४ छक्कासहित ५२ रन जोडे।
यूएईका इबरार अहमदले ४ विकेट लिए। खुजाइमा बिन तनभिरले २ तथा हैदर अली र अदीब उसमानीले समान १ विकेट लिए।
तपाईको प्रतिक्रिया