सल्यानमा जिप दुर्घटना : मृतकको संख्या तीन पुग्यो, तीन घाइते
सल्यान । सल्यानमा शनिबार बिहान भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएका त्रिवेणी गाउँपालिका–५ का ५० वर्षीय डिल्लीबहादुर वलीको उपचारका क्रममा मृत्यु भएको हो।
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत वलीलाई बिहान ११ः५५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए।
यसअघि दुर्घटनामा त्रिवेणी गाउँपालिका–६ का ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी–५ की १८ वर्षीया विपना बुढाथोकीको मृत्यु भएको थियो। उनीहरूको बिहान १०ः२२ बजे जिल्ला अस्पताल खलंगामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका थप तीन जनाको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। घाइते हुनेमा जिप चालक त्रिवेणी गाउँपालिका–५ सिम्खका २४ वर्षीय भूपाल पुन, त्रिवेणी–६ की ४२ वर्षीया लालमती र त्रिवेणी–५ का २९ वर्षीय पारस बोहरा रहेका छन्।
उनीहरूलाई त्रिवेणी हेल्थ केयर लुहाममा प्रारम्भिक उपचारपछि थप उपचारका लागि दाङ रेफर गरिएको थियो।
शनिबार बिहान करिब ८ बजे त्रिवेणी गाउँपालिका–५ सिम्खमा लु.प्र.०२–००१ ज ०००५ नम्बरको जिप सडकबाट करिब ९० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनाको थप विवरणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
तपाईको प्रतिक्रिया