नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन, यूएईमाथि ४५ रनको शानदार जित
एसिया कपमा नेपालको स्थान पक्का
काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ। शनिबार मलेसियाको क्वालालम्पुरस्थित मैदानमा भएको फाइनलमा यूएईलाई ४५ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो।
उपाधिसँगै नेपालले आगामी एसिया कपमा आफ्नो स्थानसमेत पक्का गरेको छ। एसीसी प्रिमियर कपको विजेता टोलीले एसिया कपमा छनोट हुने प्रावधानअनुसार नेपालले एसिया कप खेल्ने अवसर पाएको हो।
पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले उत्कृष्ट शतकीय पारी खेले। उनले १०६ बलमा ८ चौका र ४ छक्काको मद्दतमा १०४ रन बनाए।
गुल्सन झाले ५२ रनको अर्धशतकीय पारी खेल्दा अर्जुन कुमालले ४३ तथा कप्तान रोहित पौडेलले ४० रन बनाए। दीपेन्द्रसिंह ऐरीले १८, बसिर अहमदले १५, इशान पाण्डेले १३ र सन्दीप जोराले ७ रन जोडे। करण केसी र ललित राजवंशीले समान १ रन बनाए।
यूएईका इब्रार अहमदले ४ तथा खुजैमा तनवीरले २ विकेट लिए। हैदर अली र अदीब उस्मानीले समान १ विकेट लिए।
३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९ ओभरको आसपासमा २६८ रनमै अलआउट भयो। यूएईका राहुल चोप्राले शतक बनाए पनि उनको उत्कृष्ट प्रदर्शन टोलीलाई जिताउन पर्याप्त भएन। चोप्राले ११५ रन बनाए।
शोयब खानले ५२, तानिस सुरीले ४२, हरप्रित सिंहले ३३ तथा खुजैमा तनवीरले १५ रन बनाए।
नेपालका लागि करण केसीले ३ विकेट लिए। ललित राजवंशीले २ विकेट लिँदा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र गुल्सन झाले समान १ विकेट लिए।
नेपालले उत्कृष्ट ब्याटिङ र बलिङ प्रदर्शन गर्दै यूएईलाई ४५ रनले पराजित गरेसँगै एसीसी प्रिमियर कपको उपाधि आफ्नो नाममा गरेको हो।
तपाईको प्रतिक्रिया