बिहीबार १ असोज २०८३
समाज

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

बुधबार भदौ ३१, २०८३/ Wednesday 09-16-26

काठमाडौं । दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने ग्याससहित दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन राष्ट्रियसभा सदस्यहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रियसभाको बैठकमा सदस्य नारायणदत्त भट्टले बजारमा खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध हुन नसकेको र दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रणमा पनि प्रभावकारी काम हुन नसकेको बताए। चाडपर्वका समयमा उपभोक्ताले थप समस्या झेल्न नपर्ने गरी आपूर्ति व्यवस्थालाई व्यवस्थित गर्न उनले सरकारसँग आग्रह गरे।

बैठकमा सदस्य विष्णुबहादुर विश्वकर्माले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन लागेका प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु न्यायको विषयलाई प्राथमिकताका साथ अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने धारणा राखे।

सदस्य सम्झना देवकोटाले नदी किनारमा भौगोलिक अवस्थाको पर्याप्त अध्ययनबिना ठूला बस्ती तथा पूर्वाधार निर्माण गर्दा विपद्को जोखिम बढिरहेको बताइन्। उनले नदी किनारका बस्ती र पूर्वाधार निर्माणसम्बन्धी विद्यमान नीतिमा पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याइन्।

यसैगरी, सदस्य वासुदेव घिमिरेले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि भएको जेन–जी आन्दोलनले उठाएका विषयलाई सरकारले सम्बोधन गरी व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताए।

सदस्य गोमादेवी तिमिल्सिनाले भोटेकोशी बाढी प्रभावितलाई राहत वितरणमा विभेद भएको गुनासो आएको उल्लेख गर्दै प्रभावित सबै नागरिकलाई समान र निष्पक्ष ढंगले राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराइन्।

बैठकमा शिक्षा क्षेत्रको सुधारको विषय पनि उठाइएको थियो। सदस्य धर्मेन्द्र पासवानले शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन सरकारले स्पष्ट र ठोस नीति ल्याउनुपर्ने माग गरे।

त्यस्तै, सदस्य जगतबहादुर पार्कीले जनताले सरकारको व्यवहार र कार्यशैलीमा परिवर्तन देख्न चाहेको बताए। उनले जनअपेक्षाअनुसार सरकार प्रस्तुत हुनुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया