चितवन । बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर सडकखण्डमा १८ दिनपछि बिहीबार बिहानदेखि दुईतर्फी यातायात सञ्चालनमा आएको छ। गत भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले कृष्णभीरको सडकको तल्लो भाग बगाएपछि करिब १०० मिटर सडक क्षतिग्रस्त भई यातायात पूर्णरूपमा अवरुद्ध भएको थियो। त्यसपछि नजिकैको डाँडा काटेर नयाँ ट्र्याक निर्माण गरी सडक सञ्चालनमा ल्याइएको हो।
नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका इञ्जिनियर धीरज ढकालका अनुसार बुधबार साँझसम्म आवश्यक काम सम्पन्न भएपछि बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन गरिएको हो। सडक पुनः सञ्चालनमा ल्याउन आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरिएको थियो। कृष्णभीरमा यातायात सञ्चालनमा आएपछि नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो रोकथामका लागि गरिएको आंशिक सडक अवरोधको काम पनि तत्कालका लागि रोकिएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन्।
कृष्णभीर सडक लामो समय अवरुद्ध हुँदा ठूला सवारीसाधनलाई संघीय राजधानी आवतजावतमा समस्या भएको थियो भने त्यसको असर काठमाडौंमा एलपी ग्यासको आपूर्तिमा समेत परेको थियो। बाढीपछि त्रिशूली नदीमा आएको ठूलो बहावका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा क्षति पुगेको थियो। तीमध्ये कृष्णभीरमा सडक पूर्णरूपमा भासिएपछि यातायात सञ्चालनमा ठूलो समस्या देखिएको थियो। उक्त सडकखण्डबाट दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्ने गरेको जनाइएको छ।
तपाईको प्रतिक्रिया